काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको तयारीका सन्दर्भमा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मूल समारोह समिति बैठकमा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको अनुपस्थिति प्रति चासो व्यक्त गरेका छन्।
बैठकमा मेयर शाहको सट्टा उपमेयर सुनिता डंगोल सहभागी थिइन्। मेयर शाहको अनुपस्थिति उल्लेख नगरे पनि प्रधानमन्त्री ओलीले राजधानीका जनप्रतिनिधिहरू यस्ता महत्वपूर्ण बैठकहरूमा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाउँदै आगामी बैठकहरूमा अनिवार्य रूपमा सहभागिता सुनिश्चित गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले भने, “यस्ता महत्वका राष्ट्रिय कार्यक्रमको तयारी बैठकमा जनप्रतिनिधिहरूको उपस्थिति आवश्यक हुन्छ। तर, सम्बन्धित प्रतिनिधि पटकपटक अनुपस्थित भइरहेका छन्, जुन राम्रो संकेत होइन। आगामी बैठकहरूमा यस किसिमको स्थिति नदोहोरियोस्।”
बैठकमा गृह मन्त्रालयले गणतन्त्र दिवस मूल समारोह समितिको गठन तथा दिवसका कार्यक्रमहरू प्रस्तुत गरेको थियो। छलफलपछि ती प्रस्तावहरू पारित गरिएका छन्। मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौँ, ललितपुर लगायतका महानगर प्रमुखहरू, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, उपत्यकाका नगरपालिका प्रमुखहरू सदस्य रहने छन् भने गृह मन्त्रालयका सचिव सदस्य–सचिव हुनेछन्।
बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई जेठ १४, १५ र १६ गतेसम्म त्रिदिवसीय रूपमा मनाउने निर्णय गरेको छ। तीनै तहका सरकार, सार्वजनिक निकाय, निजी क्षेत्र तथा संघ–संस्थाहरूलाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिनेछ। सार्वजनिक कार्यालयहरूमा साँझ दीप प्रज्वलन गर्ने व्यवस्था पनि तय गरिएको छ।
यस्तै, विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमार्फत पनि विविध कार्यक्रम आयोजना गरिनेछ। मुख्य समारोह भने जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुनेछ।
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराखी, व्यापक जनसहभागितासहित भव्य रूपमा मनाउन सबैमा आह्वान गरेका छन्।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया