काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज साँझ भेटवार्ता हुने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि दुबै नेताबीच संवाद हुन लागेको हो।
भेटवार्ताको मुख्य एजेन्डा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। एमाले र कांग्रेसबीच हाल गभर्नरको नियुक्तिका विषयमा छलफल तीव्र बनेको छ।
सूत्रका अनुसार कांग्रेस र एमालेबीच कांग्रेस निकट अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउने सैद्धान्तिक सहमति भइसकेको छ। तर, आवश्यक सिफारिस प्रक्रिया भने अझै सुरु हुन सकेको छैन।
प्रक्रियाअनुसार, सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नुपर्छ। त्यसपछि मन्त्रिपरिषद् बैठकले तीमध्ये एक जनालाई गभर्नरका रूपमा नियुक्त गर्ने निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ।
गभर्नर नियुक्तिको विषयमा दलहरूबीच चलिरहेको रस्साकस्सीको बीचमा हुने ओली–देउवा भेटवार्तालाई विशेष महत्वका साथ हेरिएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया