काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको मुद्दामा बालकोट र बुढानीलकण्ठलाई पनि नछोड्ने सरकारको तयारी देखेपछि कांग्रेस र एमाले मिलेर षड्यन्त्रपूर्वक आफू नेतृत्वको सरकार परिवर्तन गरिएको आरोप लगाएका छन्।
‘जनतासँग माओवादी’ अभियानअन्तर्गत जाजरकोटमा आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, “हाम्रो सरकारलाई बदलेको थिएन भने केही दिनभित्रै कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिन्थ्यो। हामीले केवल आरोप लगाएका होइनौं, प्रमाणसहित प्रक्रिया अघि बढाउँदै थियौं।”
उनले दाबी गरे, “माओवादी नेतृत्वको सरकारलाई ढाल्नुको मूल कारण कांग्रेस र एमालेको भय हो। बालकोट र बुढानीलकण्ठसम्म अनुसन्धान पुग्ने निश्चित भएपछि डरले उनीहरू एक भए र षड्यन्त्र गरेर सरकार परिवर्तन गरे।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले थपे, “हामीले भ्रष्टाचारको विरुद्ध निर्णायक कदम चाल्न खोज्दा उल्टै षड्यन्त्रमा परेर हटाइयो। चोरलाई कारबाहीको डर देखिन थालेपछि बच्नकै लागि नयाँ सत्ता समीकरण बनाइएको हो भन्ने कुरा अब सबैले बुझिसकेका छन्।”
उनले अब माओवादी पार्टीले विगतका कमजोरी सच्याउँदै जनताको पक्षमा दृढतापूर्वक अघि बढ्ने बताए। “हामी सुधारको बाटोमा छौं। जनतासँग प्रत्यक्ष संवाद गर्दै, जनचासोका मुद्दा उठाउँदै अघि बढिरहेका छौं। अब हामीलाई फेरि एकपटक जनताको सेवा गर्ने अवसर दिनुपर्छ,” अध्यक्ष प्रचण्डको आग्रह थियो।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया