- गणेश अम्गाई
काठमाडौं । नेपाली युवाहरूलाई नैतिकवान् नेतृत्व, अनुशासित जीवनशैली, प्रगाढ राष्ट्रिय चेतना, जिम्मेवार नागरिकता र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताले सुसज्जित गर्ने पवित्र उद्देश्यका साथ “कर्तव्यपथ” नामक एक सात दिने विशेष तालिम कार्यक्रमको थालनी काठमाडौंमा हुने भएको छ।
साउथवेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, युनिभर्सिटी अफ थ्री जेनेरेसन र ईगल थिंक ट्याङ्कको सहकार्यमा आयोजना हुन लागेको यो कार्यक्रमले सहभागीहरूको शारीरिक, मानसिक, नैतिक र नेतृत्व क्षमताको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिएको छ।
यस तालिम विशेष गरी मुलुक र समाज सेवामा समर्पित भावना भएका, भविष्यमा सुरक्षा निकाय, कूटनीतिक क्षेत्र, नागरिक प्रशासन र संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरूमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने युवाहरूलाई लक्षित गरिएको छ। आगामी ज्येष्ठ ७ गतेदेखि बसुन्धरास्थित साउथवेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको प्राङ्गणमा सञ्चालन हुने यो निःशुल्क तालिम युवाहरूलाई आफ्नो मातृभूमिप्रतिको दायित्वबोध गराउँदै विदेश पलायनको बढ्दो प्रवृत्तिलाई सन्तुलन गर्न एक दूरगामी प्रयास हुने विश्वास गरिएको छ।
“कर्तव्यपथ” ले युवाहरूलाई अनुशासनको महत्त्व, नैतिक मूल्यमान्यताको पहिचान, शारीरिक सहनशीलताको विकास, दूरदर्शी नेतृत्व क्षमताको अभिवृद्धि र अन्तर्राष्ट्रिय शान्ति कार्यको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरी उनीहरूको व्यक्तित्व विकासलाई नयाँ दिशा दिने लक्ष्य राखेको छ।
यो कार्यक्रम चार मुख्य आधारस्तम्भहरूमा आधारित छ:
सुरक्षा सचेतना: यस अन्तर्गत सहभागीहरूलाई नेपालको राष्ट्रिय सुरक्षा संरचना, दैनिक जीवनमा आवश्यक प्रयोगात्मक सुरक्षा सीपहरू, शारीरिक तन्दुरुस्ती र अनुशासनको महत्त्वबारे विस्तृत जानकारी प्रदान गरिनेछ।
मानव संसाधन तथा नैतिक नेतृत्व: यस खण्डमा युवाहरूलाई नागरिकको रूपमा आफ्नो कर्तव्यबोध, सामूहिक कार्यमा नेतृत्व गर्ने क्षमता, उच्च नैतिक आचरण र इमानदार नेतृत्व विकास जस्ता विषयमा गहन प्रशिक्षण दिइनेछ।
कुटनिती तथा संयुक्त राष्ट्र संघीय शान्ति मिसन: यस स्तम्भमा सहभागीहरूले कूटनीतिक मर्यादा, अन्तर्राष्ट्रिय वार्ता प्रक्रिया, संयुक्त राष्ट्र संघीय शान्ति मिसनको संरचना र बहुसांस्कृतिक वातावरणमा नेतृत्व गर्ने कला जस्ता विषयमा ज्ञान हासिल गर्नेछन्।
साहसिक, जीवन रक्षा सीप तथा सहनशीलता निर्माण: यस खण्डमा युवाहरूलाई विभिन्न साहसिक गतिविधिहरूमा सहभागी गराई मानसिक दृढता, असहज परिस्थितिमा बाँच्न सक्ने सीप र समस्या समाधान गर्ने क्षमता विकास गराइनेछ।
प्रशिक्षणको क्रममा सहभागीहरूले अनुभवी सुरक्षा विज्ञहरू, वरिष्ठ कूटनीतिज्ञहरू, प्रतिष्ठित प्राध्यापकहरू र संयुक्त राष्ट्र संघीय पूर्व शान्ति सैनिक तथा प्रहरी अधिकारीहरूबाट प्रत्यक्ष ज्ञान र अनुभव प्राप्त गर्ने अवसर पाउनेछन्।
तालिमलाई अझ प्रभावकारी बनाउन सुरक्षा अध्ययन भ्रमणलाई पनि कार्यक्रमको अभिन्न अङ्ग बनाइएको छ। यस अन्तर्गत सहभागीहरूलाई नेपाली सैनिक तालिम प्रतिष्ठान खरिपाटी, भक्तपुर; गरुड सेक्युरिटी प्रा.लि. महाराजगञ्ज, काठमाडौं र अल्टिमेट भेन्यु नेपाल, कपन, काठमाडौंको अवलोकन गराइने योजना छ।
आर्थिक अभावका कारण कुनै पनि इच्छुक विद्यार्थी यो महत्त्वपूर्ण अवसरबाट वञ्चित नहोस् भन्ने उदात्त उद्देश्यले यो तालिम पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ। यस कार्यक्रममा संलग्न सबै स्रोत व्यक्ति तथा विज्ञहरूले आफ्नो अमूल्य समय र ज्ञान निःस्वार्थ रूपमा प्रदान गर्नेछन्।
तालिमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ, जसले उनीहरूको व्यक्तिगत विवरण (सीभी) लाई थप आकर्षक बनाउनेछ। यसका साथै, तालिम अवधिमा Eagle Eye Online Quiz Contest पनि आयोजना गरिनेछ, जसमा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने युवाहरूलाई उचित पुरस्कार प्रदान गरिनेछ। इच्छुक प्रायोजक वा दाताहरूले यस प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्न सक्नेछन्।
ईगल थिंक ट्याङ्कका प्रबन्ध निर्देशक तथा पूर्व सैनिक कूटनीतिज्ञ ब्रिगेडियर जनरल रामचन्द्र खत्री (अवकाशप्राप्त) ले यस कार्यक्रमको महत्त्वलाई प्रकाश पार्दै भन्नुभयो, “आजको जटिल सुरक्षा, कूटनीति र विश्व शान्ति व्यवस्थामा नेपालले अनुशासित, जानकार र नैतिक प्रतिबद्धतायुक्त नयाँ पुस्ताका नेतृत्वहरू तयार गर्नु अपरिहार्य छ। “कर्तव्यपथ” केवल एक तालिम मात्र नभई यो एक राष्ट्रिय अभियान हो, जसले हाम्रा विद्यार्थीहरूमा राष्ट्रिय गौरव, अनुशासन, नैतिकता र सेवा भावलाई जागृत गर्नेछ।”
आयोजकहरूले स्थानीय निकाय, महानगरपालिका, नगरपालिका, गाउँपालिका तथा विभिन्न शैक्षिक संस्थाहरूलाई यस्ता युवा सशक्तिकरण, नागरिक शिक्षा र नेतृत्व विकास कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रमको अभिन्न अङ्ग बनाउन आग्रह गरेका छन्। नव स्थापित ईगल थिंक ट्याङ्क यस प्रकारको तालिम सञ्चालन गर्न प्रतिबद्ध रहेको र आवश्यक सहयोग गर्न तयार रहेको पनि जानकारी गराइएको छ।
“कर्तव्यपथ” निःसन्देह नेपाली युवाहरूलाई राष्ट्र निर्माणको मार्गमा अग्रसर गराउने एक महत्त्वपूर्ण पाइला हुनेछ। यस तालिमले युवाहरूलाई सक्षम, जिम्मेवार र देशभक्त नागरिकको रूपमा विकासित गरी समृद्ध र शान्त नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया