काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जापान प्रस्थान गरेकी छन्। उनी गएराति जापानको राजधानी टोकियोतर्फ प्रस्थान गरेकी हुन्, जहाँ भोलिदेखि सामाजिक एकान्तताको विषयमा केन्द्रित सम्मेलन सुरु हुँदैछ।
एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान को आयोजनामा हुने उक्त सम्मेलनमा १२ भन्दा बढी मुलुकका मन्त्रीहरू, सरकारी उच्चपदस्थ अधिकारीहरू तथा अनुभवी सामाजिक अभियन्ताहरू सहभागी हुनेछन्। सम्मेलनमा मन्त्री डा. राणाले नेपालको प्रतिनिधित्व गर्दै ज्येष्ठ नागरिकहरूमाझ देखिने सामाजिक एकान्तता सम्बन्धी विषयमा विशेष सम्बोधन गर्नेछिन्।
महिला सशक्तिकरण, सुरक्षित मातृत्व, ग्रामीण विकास तथा सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहिआएकी मन्त्री डा. राणालाई कार्यक्रमका प्रमुख वक्ताका रूपमा आमन्त्रित गरिएको आयोजक संस्थाले जनाएको छ। उनले ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक) र सुरक्षित मातृत्व सञ्जालजस्ता संस्थामार्फत महत्वपूर्ण सामाजिक योगदान दिँदै आएकी छन्।
जापान बसाइको क्रममा मन्त्री राणाले जापानी समकक्षीसहित विभिन्न उच्चस्तरीय व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। उनी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया