काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी जनताको सुझाव र आलोचनालाई गम्भीरतापूर्वक आत्मसात गर्दै आत्मसमीक्षा र सुधारको प्रक्रियामा अगाडि बढिरहेको बताएका छन्।

मध्यपहाडी लोकमार्ग अन्तर्गतको जनसंवाद अभियानका क्रममा जाजरकोटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कम्युनिष्ट एकताको प्रसंग उठाउँदै आफू नै एकताको पहलकर्ता रहेको स्मरण गराए।
उनले भने, “मैले नै पार्टी एकता गरेर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएको हुँ। तर त्यो एकता किन टुट्यो भन्ने गहिरो मूल्याङ्कन नगरी समाधान सम्भव छैन। उपचारको लागि पहिला रोगको सही पहिचान गर्नुपर्छ।”

advertisement

संघीय प्रणालीअनुसार जनतामा अधिकार प्रत्यायोजन नहुँदा देखिएको जनगुनासोलाई सम्बोधन गर्दै उनले सरकारको ध्यान त्यतातिराकर्षित गराए। साथै, संविधानको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्वपूर्ण कानुनको शीघ्र पारित हुनुपर्नेमा समेत उनले जोड दिए।

उनका अनुसार, यो जनसंवाद अभियान माओवादी केन्द्रको विगतका कमजोरी सच्याउँदै जनता र वर्गीय आधारसँग पुनः सम्बन्ध कायम गर्ने प्रयास हो।

कार्यक्रममा स्थानीय सहभागी र वक्ताहरूले जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा लोकमार्ग जस्ता विकास आयोजनाहरू अघि बढेकोमा सन्तोष व्यक्त गरे पनि नलगाड जलविद्युत् आयोजना प्राथमिकतामा नपरेकोप्रति चिन्ता व्यक्त गरे।
प्रचण्डले ती सबै गुनासा गम्भीर रूपमा लिइएको जनाउँदै भने, “तपाईंहरूले उठाएका प्रश्न र सुझावहरू महत्त्वपूर्ण छन्। हामी उपदेश दिने होइन, जनताको कुरा सुन्ने शैलीबाट अभियानमा जुटेका हौं।”

पूर्वप्रधानमन्त्री दाहालले भूकम्पको बेलामा तत्काल राहत र उद्धारको कामका लागि जाजरकोटमा पहल लिएको प्रसंग स्मरण गर्दै भने, “त्यसअनुसार अपेक्षित कार्यान्वयन हुन नसक्नु दुःखद विषय हो।”

उनले स्थानीय विकासका मुद्दामा केन्द्रले चासो देखाउने र जनतासँगको सम्बन्ध अझ बलियो बनाउने प्रतिवद्धता जनाए।

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com