काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी २०८४ सालको निर्वाचनसम्म नेपाली कांग्रेस र एमालेबीचको वर्तमान सत्ता गठबन्धन निरन्तर रहने स्पष्ट दाबी गरेका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले कांग्रेस–एमाले नेतृत्वको सरकार गठनको उद्देश्य अझै पूर्ण रूपमा प्राप्त नभएकाले गठबन्धन जारी रहने बताए।
उनले भने, “दुई ठूला दल मिलेर सरकार बनाउनुको मुख्य मक्सद अझै पूरा भइसकेको छैन, त्यसैले ०८४ को निर्वाचनसम्म यो गठबन्धन यथावत् रहनेछ।”

advertisement

उनका अनुसार ठूला दलहरूबीचको गठबन्धनमा कहिलेकाहीँ केही असहजता आउनु स्वाभाविक हो। उनले कांग्रेस र एमाले दुवैले समान सहभागिता खोज्नु राजनीतिक प्रकृयाको सामान्य पक्ष भएको उल्लेख गरे।

सचिव भट्टराईले वर्तमान सरकारको कार्यदिशा गलत नभए पनि अपेक्षित गति हासिल गर्न नसकेको स्वीकार गरे। साथै, सरकारप्रति आलोचना हुनु स्वाभाविक भए पनि सत्तारुढ दलका नेताहरूले गर्ने टिप्पणीले आपसी सम्बन्धमा नकारात्मक असर नपरोस् भन्ने कुरामा सबैजना संवेदनशील हुनुपर्ने धारणा राखे।

उनले संवैधानिक आयोग र विभिन्न जिम्मेवार पदहरूमा प्रमुख नियुक्तिको विषयलाई सरकार गम्भीरतापूर्वक लिनु आवश्यक रहेको बताए।

संविधान संशोधनबारे बोल्दै भट्टराईले यस्तो विषयमा राष्ट्रिय सहमतिको सरकार गठनको आवश्यकता नरहेको प्रष्ट पारे। “संविधान संशोधन सरकारको स्वरूप होइन, साझा सहमतिका एजेन्डामा निर्भर हुन्छ,” उनले जोड दिए।

उनको भनाइमा, राष्ट्रिय हितका विषयमा दलहरूबीच एजेन्डागत सहमति हुनुपर्छ, सरकार गठनको प्रकृतिले मात्रै त्यो सुनिश्चित गर्न सक्दैन।

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com