काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँणले सार्वजनिक टिप्पणीका आधारमा व्यक्तिको निष्कर्ष निकाल्ने प्रवृतिप्रति आपत्ति जनाएकी छिन्।
सांसद खाँणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले भैरहवा विमानस्थल अनियमितता छानबिन उपसमितिको संयोजक पदमा फसाउने नियतले आफूलाई चयन गरिएको भनी व्यक्त गरेको भनाइप्रति कडा प्रतिक्रिया दिएकी हुन्।
बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद खाँणले मिडियामा आएका भनाइ मात्रका भरमा कसैलाई दोषी ठहर गर्न नहुने बताइन्। उनले सांसद साहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै भनिन्, “मिडियाको आधारमा निर्णय लिने हो भने कुन निकायको के अर्थ रहन्छ? तपाईंले आफ्नो बोली फिर्ता लिनुपर्छ।”
खाँणले थप भनिन्, “अत्ति भयो, इनफ इज इनफ। हामी अदालत हो र? सार्वजनिक लेखा समितिको अधिकार कारबाही गर्नु होइन। तपाईंको पार्टीको सभापति कहाँ हुनुहुन्छ? यस्तो शब्द प्रयोग गर्न मिल्दैन।”
यसअघि सांसद योगेश भट्टराईमाथि स्वार्थको द्वन्द्व रहेको भन्दै प्रश्न उठेपछि भैरहवा विमानस्थलको छानबिन उपसमितिको संयोजकमा मञ्जु खाँणलाई चयन गरिएको हो।
प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया