एजेन्सी । भारतको छत्तीसगढ राज्यमा भारतीय सुरक्षाबलले सञ्चालन गरेको एक ठूलो कारबाहीमा २७ जना माओवादी लडाकु मारिएका छन्। बस्तर क्षेत्रअन्तर्गत नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमाक्षेत्रमा बुधबार भएको मुठभेडमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव तथा शीर्ष नेता नम्बाला केशव राव, जो बसवराजूको नामले चिनिन्थे, मारिएको पुष्टि भएको छ।
भारतका गृहमन्त्री अमित शाहले पनि सामाजिक सञ्जाल एक्समार्फत माओवादी विरोधी अभियानमा यो कारबाहीलाई “ऐतिहासिक उपलब्धि”को रूपमा उल्लेख गरेका छन्। उनले लेखेका छन्, “छत्तीसगढको नारायणपुरमा सुरक्षाबलले सञ्चालन गरेको कारबाहीमा २७ जना माओवादी मारिएका छन्। यसमा माओवादी आन्दोलनको मेरुदण्ड मानिने महासचिव बसवराजू पनि परेका छन्।”
‘अपरेशन ब्ल्याक फरेस्ट’ नाम दिइएको यो अभियान अन्तर्गत सुरक्षाबलले ५४ जना माओवादीलाई पक्राउ गरेको र थप ८४ जनाले आत्मसमर्पण गरेको जानकारी पनि शाहले दिएका छन्।
हाल छत्तीसगढमा माओवादी विरुद्धको कारबाही तीव्र रूपमा अगाडि बढिरहेको छ। राज्य सरकारले हालै सम्पन्न २१ दिन लामो अपरेशनमा ३१ जना माओवादी मारिएको र पछिल्लो मुठभेडमा थप २७ जनाको मृत्यु भएको जानकारी दिएको छ।
राज्यका गृहमन्त्री विजय शर्माका अनुसार, ओरछा क्षेत्रको दुर्गम पहाडी इलाकामा ५० घण्टासम्म व्यापक सर्च अपरेशन सञ्चालन गरिएको थियो। उनले भने, “लाल आतङ्क अन्त्य गर्ने हाम्रो संकल्प जारी छ, खोजी र कारबाही अझै पनि जारी नै छ।”
प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया