काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कडा टिप्पणी गरेका छन्। बुधबार रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले डा. भट्टराईलाई “सबैभन्दा कम बुद्धि भएका डाक्टर” भनेर सम्बोधन गरे।

पत्रकारहरूले पार्टी एकताको सम्भावनाबारे सोधेको प्रश्नमा प्रचण्डले प्रतिक्रिया दिँदै भने, “मान्छेहरू उहाँलाई ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने गर्छन्। यस्तो सोच राख्ने व्यक्तिसँग कसरी एकता सम्भव हुन्छ?”

advertisement

प्रचण्डका अनुसार अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पार्टी एकताको आशामा उनी स्वयं गोरखा क्षेत्रबाट चुनाव लडेका थिए। “त्यतिबेला नारायणकाजी कमरेड, म, र बाबुरामज्यूले पार्टी मात्रै होइन, आन्दोलन पनि एउटै बनाउने भनिएको थियो,” उनले स्मरण गरे, “तर पछि उहाँले कम्युनिस्ट नाम राख्नै नचाहेपछि के गर्ने? पार्टी एकता गर्न खोज्दा उहाँले स्पष्ट रूपमा ‘कम्युनिस्ट भन्ने नाम भए म आउँदिन’ भन्नुभयो। यस्तो अवस्थामा म बाबुरामका लागि मर्न जान्थे र?”

प्रचण्डले बाबुराम भट्टराईमाथि वामपन्थी मूल्य–मान्यता त्यागेर प्रतिक्रियावादी शक्तिसँग मिलेको आरोप समेत लगाए। “अब उहाँ कम्युनिस्ट भन्न पनि डराउनुहुन्छ, मार्क्सवाद भन्न पनि सक्नुहुन्न। यस्तो मान्छेसँग कसरी एकता गर्ने?” उनले भने, “खिइँदै खिइँदै आज त पूरै प्रतिक्रियावादीहरूकै काखमा गएर बसेका छन्। उनीहरूले पनि उहाँलाई पत्याउने अवस्था छैन अहिले। देशभरि बाबुराम हाँसोको पात्र बनेका छन्। यस्तो ‘बुद्धि नभएको डाक्टर’ को अब के चर्चा गर्नु?”

अन्त्यमा प्रचण्डले डा. भट्टराईसँग रहेका धेरै पुराना सहकर्मीहरू पुनः माओवादी केन्द्रमै फर्कने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com