काठमाडौं । उत्तर कोरियाको चोङजिन शहरस्थित पूर्वी बन्दरगाहमा बुधबार आयोजित नयाँ युद्धपोतको प्रक्षेपण समारोहमा एक भयावह दुर्घटना भएको छ। करिब ५ हजार टन तौलको उक्त युद्धपोत लन्च गर्ने क्रममा प्राविधिक समस्या देखिएको र केही बेरमै दुर्घटनाग्रस्त भएको उत्तर कोरियाली सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रक्षेपण समारोहमा स्वयम् उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पनि उपस्थित थिए। जहाजको केही भागमा समस्या देखिएपछि सन्तुलन गुम्दै युद्धपोत पानीमा डुबेको थियो। घटना हुनासाथ कार्यक्रममा सहभागीहरूमा त्रास फैलिएको थियो।
हालसम्म मानवीय क्षतिको कुनै पुष्टि नभए पनि उत्तर कोरियाको सरकारी समाचार संस्था ‘केसीएनए’का अनुसार किम जोङ उनले उक्त घटनालाई ‘गम्भीर आपराधिक कार्य’को संज्ञा दिएका छन्। उनले असक्षम नेतृत्व र लापरवाहीपूर्ण सञ्चालनका कारण यस्तो दुर्घटना भएको आरोप लगाएका छन्। साथै, यस्ता गतिविधि सहन नसकिने भन्दै कडा चेतावनी पनि दिएका छन्।
किमले यो विषय पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा विशेष रूपमा उठाइने बताएका छन्। गत महिना मात्रै उत्तर कोरियाले ‘चो ह्योन’ नामक नयाँ ५ हजार टन क्षमताको युद्धपोत सार्वजनिक गरेको थियो, जसैको प्रक्षेपण समारोहमा यो दुर्भाग्यपूर्ण दुर्घटना घटेको हो।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया