काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित चारघरेको सित्खा गोगनपानीमा शव बोकेर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार प्र–३–०१–००२ झ ५८०३ नम्बरको उक्त एम्बुलेन्स सडकबाट करिब १०० मिटर तल खसेको हो। दुर्घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले एम्बुलेन्समा चार जना सवार रहेको र तीन जना घाइते भएको पुष्टि गरेका छन्।
घाइतेमध्ये एम्बुलेन्स चालक २४ वर्षीय सुरेश मगर, ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई रहेको प्रहरीले जनाएको छ। तीनैजनालाई उद्धार गरी अर्को एम्बुलेन्समार्फत उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डीएसपी भट्टले जानकारी दिए।
दुर्घटनाको कारण अहिलेसम्म नखुलेको जनाइएको छ। प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया