काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापानको औपचारिक भ्रमणका क्रममा बिहीबार टोकियोस्थित जापानी विदेश मन्त्रालयमा जापानका परराष्ट्रमन्त्री महामहिम इवाया ताकेशीसँग औपचारिक भेटवार्ता गरेकी छन् । भेटवार्ता फलदायी र सकारात्मक भएको मन्त्री राणाले बताएकी छन् ।
भेटवार्तापछि मन्त्री राणाले भनिन्, “टोकियोस्थित जापानी विदेश मन्त्रालयमा महामहिम इवाया ताकेशीसँग निकै फलदायी छलफल गर्न पाएकोमा खुशी छु। सगरमाथा संवादमा जापानको सक्रिय सहभागिताका लागि उहाँप्रति हार्दिक धन्यवाद व्यक्त गरेँ।”
भेटका क्रममा उनले जापान एयरलाइन्सलाई नेपालमा उडान सेवा सुरु गर्न सकारात्मक पहल गर्न आग्रह गरेकी थिइन् । यसबारेमा जापानी समकक्षी ताकेशीले आवश्यक सहजीकरणका लागि सकारात्मक संकेत दिएका मन्त्री राणाको भनाइ छ ।
“नेपाल र जापानबीच दीर्घकालीन, सुदृढ र विश्वासमा आधारित साझेदारी रहँदै आएको छ,” मन्त्री राणाले भनिन्, “हामी हाम्रो कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा, यस ऐतिहासिक अवसरलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धतासहित आपसी सहयोगका नयाँ सम्भावनाहरू खोज्ने अपेक्षा लिएका छौँ।”
परराष्ट्रमन्त्री राणा जापानमा आयोजित “ज्येष्ठ नागरिकहरूमा देखिने सामाजिक एकान्तता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन”मा भाग लिन जापान पुगेकी हुन् । एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (Foundation for the Welfare and Education of the Asian People) द्वारा आयोजित उक्त सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, उच्च सरकारी अधिकारी तथा वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहेको छ।
नेपाली महिलाहरूको आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षा प्रवर्द्धनमा ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक) र सुरक्षित मातृत्व सञ्जालजस्ता संस्थामार्फत लामो समयदेखि योगदान दिँदै आएकी मन्त्री डा. राणालाई सम्मेलनमा विशेष वक्ताको रूपमा आमन्त्रित गरिएको हो।
जापान भ्रमणको क्रममा मन्त्री राणाको विभिन्न अन्य उच्चस्तरीय द्विपक्षीय भेटवार्ताको कार्यक्रम पनि तय गरिएको छ। उनी यही शनिबार स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया