काठमाडौं । गत चैत महिनामा करिब ५५/५६ वर्षका एक सरकारी कर्मचारीले ‘टिकटक गर्ल’ नामबाट फेसबुकमा आएको फ्रेन्ड रिक्वेस्ट स्वीकृत गरे। युवतीको आकर्षक तस्बिर भएको प्रोफाइलबाट आएको सो रिक्वेस्ट केही समयमै एक्सेप्ट गरेपछि सुरु भयो एक नियोजित षड्यन्त्र।

सुरुमा एक हप्ता कुनै कुराकानी नभए पनि त्यसपछि ‘हाई’ भन्ने सन्देश आएपछि संवाद सुरु भयो। सामान्य चिनजानपछि दुवैबीच म्यासेन्जरमा कुराकानी गहिरिँदै गयो र अन्ततः अन्तरंग कुरासम्म पुग्यो। केही दिनपछि ती युवतीले ठमेलमा कफी पिउन बोलाइन्। सरकारी कर्मचारी तयार भए।

advertisement

ठमेलमा पहिलोपटक भेट हुँदा ती युवती एक अर्की साथी सहित आइन्। कफी खाएर छुटिए। एक सातापछि पुनः भेटको प्रस्ताव आयो— योपटक खानपानसहित। फेरि पनि सरकारी कर्मचारी राजी भए।

मध्य वैशाखतिर ठमेलको एक रेष्टुरेन्टमा उनीहरूको भेट भयो। तीनैजनाले मदिरा सेवन गरे। तर युवतीहरूले कम मात्रामा पिउँदै सरकारी कर्मचारीलाई सर्भ गरिरहे। केहीबेरमै ती कर्मचारी अचेत भए। होश आउँदा आफू मात्र रेष्टुरेन्टको कोठामा रहेको पाए। उनी घर फर्किए र सामान्य जीवनमा फर्किए।

तर करिब १० दिनपछि फेरि नयाँ फेसबुक आईडीबाट रिक्वेस्ट आयो। अघिलेजस्तै स्वीकृत गरेपछि म्यासेन्जरमा एकाएक अर्धनग्न तस्बिर र भिडियो पठाइयो। ती तस्बिर हेरेपछि उनी अघिको ठमेल घटनामा नै फसेको थाहा पाए।

त्यसपछि सुरु भयो ब्ल्याकमेल। ‘काठमाडौंमा घर देऊ, नभए चार आना जग्गा। नत्र मिडिया र प्रहरीमा गएर बलात्कारको मुद्दा हाल्छु,’ भन्ने धम्कीसहित तस्बिर र भिडिओ देखाएर मानसिक त्रास दिन थालियो।

यत्ति मात्र होइन, केही दिनपछि दुई जना पुरुष सम्पर्कमा आए। एकले ‘दिदी-बहिनीलाई यस्तो गर्ने?’ भन्दै धम्क्याए भने अर्काले ‘म मिलाउँछु, केही रकममा कुरा मिलाउ’ भन्दै फकाउने प्रयास गरे।

यस्ता धम्की र ब्ल्याकमेलिंगले हैरान भएका ती सरकारी कर्मचारी अन्ततः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगे। प्रहरीको योजनाअनुसार उनीहरूले ५ लाख रुपैयाँ पहिलो किस्तामा दिने र बाँकी पछि मिलाउने सर्तमा कुरा गरे।

हनुमानस्थानमा भेटघाटको बहानामा सरकारी कर्मचारीले आफ्नो बैंकको ५ लाखको चेक दिन ‘टिकटक गर्ल’लाई बोलाए। त्यहाँ पुगेकी दुई युवतीलाई चेक लिनेक्रममै प्रहरीले नियन्त्रणमा लियो।

पक्राउ पर्नेमा कैलालीकी ममता तामाङ (३४) र भक्तपुरकी आँचल श्रेष्ठ उर्फ आँचल चौगुठी (३४) रहेका छन्। प्रहरीका अनुसार उनीहरूले ‘टिकटक गर्ल’ नाममा फेसबुक चलाएर पुरुषलाई फसाउने र रकम असुल गर्ने आपराधिक योजना बनाएका थिए।

आँचलको साथबाट ५ लाखको चेक र दुई मोबाइल बरामद गरिएको छ। अनुसन्धानका क्रममा उनीहरूले ती सरकारी कर्मचारीलाई अचेत बनाएर अर्धनग्न तस्बिर तथा भिडियो खिचेको खुलेको छ। त्यसपछि उनीहरूले फरार भएर ब्ल्याकमेल गर्ने कार्य गरेका थिए।

प्रहरीका अनुसार उनीहरूलाई सहयोग गर्ने दुई पुरुषको पनि पहिचान भइसकेको छ, तर हालसम्म पक्राउ परेका छैनन्। पक्राउ परेकी आँचल विवाहित थिइन् र हाल सम्बन्धविच्छेद गरी बसिरहेकी थिइन्। उनीहरूको पेशा स्पष्ट नभएको र यस्तै शैलीको ठगीमा संलग्न भएको आशंका गरिएको छ।

यदि कोही अन्य व्यक्ति पनि उनीहरूको यस्तो षड्यन्त्रको शिकार भएका छन् भने प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ। पक्राउ परेका दुवै महिलालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com