बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला गाउँपालिकास्थित सहिद मार्गको स्तरोन्नतिको लागि आवश्यक बजेट सुनिश्चित गर्न सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ताराखोला गाउँपालिकाद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले उक्त मार्गलाई राष्ट्रिय राजमार्गसँग जोड्न सडक विस्तार र कालोपत्रका लागि सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “यसअघि पनि सहिद मार्गलाई बजेटमा समावेश गर्न प्रयास भएको थियो, तर त्यो प्रयास सार्थक हुन सकेन। यसपटक भने हामी विशेष प्रयत्न गर्नेछौं।” उनले यस सडकको विकासले स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुग्ने बताए।
पूर्वाधार विकासलाई पार्टीको मुख्य प्राथमिकतामा राखिएको स्पष्ट गर्दै दाहालले भौगोलिक कठिनाइ र सीमित स्रोतसाधनबीच पनि ताराखोला गाउँपालिकाले विकास निर्माण र सेवा प्रवाहमा उल्लेखनीय कार्य गर्दै आएको प्रशंसा गरे।
प्रदेश राजधानीसँग स्थानीय तहलाई पक्की सडकमार्फत जोड्ने सरकारी लक्ष्यअनुरूप ताराखोलाको करिब २० किलोमिटर लामो सहिद मार्ग चार वर्षअघि नै कालोपत्र गर्ने सूचीमा सूचीकृत गरिएको थियो।
अध्यक्ष दाहालले पार्टीले सञ्चालन गरेको ‘मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियान’ले माओवादी केन्द्र र जनसाधारणबीचको सम्बन्ध थप सुदृढ बनेको पनि बताए।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया