काठमाडौँ । भिजिट भिसाका नाममा अनियमितता र बदमासीसम्बन्धी उजुरी गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ९ कर्मचारीको सरुवा गरिएको खुलेको छ।
गत मंगलबार गरिएको सरुवामा प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईको पनि सरुवा गरिएको हो, जुन गृहमन्त्री रमेश लेखकको निर्णयमा आधारित रहेको स्रोतले जानकारी दिएको छ। साथै, गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजालको निर्णयबाट तीन नायब सुब्बा, चार कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको पनि सरुवा गरिएको हो।
प्राप्त भएको विवरणअनुसार सरुवा भएका कर्मचारीहरूमध्ये प्रमुख भट्टराईले नायब सुब्बा तथा कम्प्युटर अपरेटरहरूबाट नक्कली कागजातका आधारमा भिजिट भिसा पास गराउँदै आएका थिए भन्ने सूचना पाएपछि सरुवा गरिएको हो। स्रोतका अनुसार भट्टराईले उनीहरूलाई फरक–फरक सिफ्टमा खटाएर कार्य गराउँदै आएका थिए।
तीन नायब सुब्बामध्ये प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीको सरुवा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गरिएको छ भने नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय, बाँकेमा खटाइएको छ।
कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग तथा त्यसअन्तर्गतका कार्यालयहरूमा सरुवा गरिएको छ। यस्तै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठको पनि सोही विभागअन्तर्गत सरुवा गरिएको छ।
सरुवा गरिएको भोलिपल्टै, बुधवार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयमा छापा मारेर अझै कार्यभार नबुझाएका प्रमुख भट्टराईलाई नियन्त्रणमा लिएको थियो। आयोगले उनको मोबाइल समेत नियन्त्रणमा लिएर फरेन्सिक परीक्षणका लागि ल्याबमा पठाएको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया