धनुषा । गृहमन्त्री रमेश लेखकले देशभर फैलँदो लागुऔषधको समस्यालाई गम्भीर चुनौतीको रूपमा चित्रण गर्दै यसको नियन्त्रण अत्यावश्यक भएको बताएका छन्। जनकपुरमा शुक्रबार आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले लागुऔषध दुर्व्यसन समाज र राष्ट्रका लागि डरलाग्दो बनिसकेको बताएका हुन्।
उनका अनुसार, नेपालमा सडक दुर्घटना अर्को ठूलो समस्या बनेको छ। उनले दैनिक झण्डै सात जनाले सडक दुर्घटनामा ज्यान गुमाउँदै आएको तथ्य प्रस्तुत गरे। त्यस्तै, आत्महत्याको दरसमेत चिन्ताजनक रहेको उल्लेख गर्दै उनले देशभर दैनिक १७ जनाले आत्महत्या गर्ने गरेका छन् भने साइबर अपराधको चुनौती पनि उत्तिकै गम्भीर रूपमा देखिएको बताए।
गृहमन्त्री लेखकले प्रदेशका सुरक्षा निकायहरूलाई लागुऔषध नियन्त्रणमा अझ सक्रिय र प्रभावकारी रूपमा खटिन निर्देशन दिए। उनले शान्ति र सुरक्षा राष्ट्रको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै त्यसमा कमजोरी आएमा विकासका कार्यहरू अवरुद्ध हुने स्पष्ट पारे।
उनको भनाइमा, “शान्ति र सुरक्षाको अवस्था मजबुत नहुँदा देश समृद्धिको दिशामा अगाडि बढ्न सक्दैन।”
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया