कास्की । कास्कीको पोखरामा आज (शुक्रबार) आयोजित राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एमाले)का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गरेका छन्। उनले सत्ता गुमाएको झोकमा प्रचण्ड आन्दोलनरत रहेको टिप्पणी गरे।
प्रचण्डको जागरण अभियानप्रति आलोचना गर्दै बस्नेतले भने, “कामरेड केपी ओली र प्रचण्डबीचको अन्तर मान्छे र वनमान्छेबीचको जति हो। ओली राष्ट्रवादी नेता हुन्। उनले देशभर एकैपटक अस्पतालहरूको उद्घाटन गर्ने, धरहरा पुनर्निर्माण जस्ता कार्य गर्ने नेताका रूपमा परिचित छन्।”
बस्नेतले एमाले अध्यक्ष ओलीविरुद्ध गठबन्धनको प्रयास भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध दृढ भएर उभिने चेतावनी पनि दिए। उनले मुख्यतः राजावादीहरू यसमा सक्रिय रहेको जनाए। पूर्वराजा ज्ञानेन्द्र शाहप्रति टिप्पणी गर्दै उनले भने, “अब ज्ञानेन्द्रले नारायणहिटी दरबार छिर्न टिकट काट्नुपर्छ।”
राजावादी नेता राजेन्द्र लिङ्देनप्रति पनि कटाक्ष गर्दै उनले थपे, “एमालेको समर्थनमा सांसद बनेका लिङ्देन आज ओली भाग्नका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्छ भन्ने अभिव्यक्ति दिन्छन्। यो हाँस्यास्पद छ।”
बस्नेतले मुलुकमा राजतन्त्रको पुनरागमन सम्भव नभएको प्रष्ट पारे। उनका अनुसार जनताले गणतन्त्रलाई आत्मसात गरिसकेकाले अब पछाडि फर्कने कुनै विकल्प छैन।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया