काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालले पछिल्ला दुई दशकमा चमत्कारिक ढंगले गरिबी घटाउन सफल भएको बताएका छन्।
शुक्रवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले प्रजातन्त्र स्थापना भएपछि देशमा विकासको नयाँ युग प्रारम्भ भएको उल्लेख गरे।
महामन्त्री थापाका अनुसार प्रजातन्त्रले नेपालमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति ल्याएको छ। उनले भने, “प्रजातन्त्र आएपछि विकासको लहर आयो। भौतिक संरचना निर्माणदेखि सामाजिक सेवा क्षेत्रसम्म व्यापक सुधार भयो। मानव विकास सूचकांकमा पनि सुधार देखिएको छ।”
उनले प्रजातन्त्रले नेपाली जनताको विकासप्रतिको आकांक्षा र आशा जगाउन सफल भएको बताए। “२०–२५ वर्ष अघिसम्म हातमुख जोड्न हम्मेहम्मे हुने परिवार आज आर्थिक रूपमा एक तह माथि उठेका छन्,” उनले भने, “नेपाल ती गिनेचुनेका देशमध्ये पर्छ, जसले छोटो समयमा गरिबी चमत्कारिक रूपमा घटाएको छ।”
थापाले अहिले ती परिवारका सदस्यहरू कक्षा १०, ११ वा १२ सम्म अध्ययन गरिरहेका छन् र उनीहरू आम्दानी बढाउने लक्ष्यतर्फ अग्रसर भइरहेका छन्।
तर उनले नेपाली अर्थतन्त्र चाहिँ अझै पनि सुचारु र व्यवस्थित रूपमा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गरे।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया