काठमाडौं — प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा प्रतिगमनको कुनै पनि प्रयासलाई कडा प्रतिवाद गर्दै रोक्ने चेतावनी दिएका छन्। उनले नेपाली जनताको अधिकार, स्वाधीनता र लोकतान्त्रिक मूल्य–मान्यताका रक्षाका लागि एमाले सधैं अग्रमोर्चामा रहने स्पष्ट पारे।
राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रको जन्मकुण्डलीको आधारमा राजतन्त्र पुनःस्थापनाको हल्ला फैलाउनेहरूलाई लक्षित गर्दै भने, “पूर्वराजाको कुण्डली हेरेर मात्र हुँदैन, जनताको कुण्डली पनि हेर्नुपर्छ। अब राजसिंहासनको कल्पना नगर्नुहोस्। जनताले विसर्जन गरिसकेको राजतन्त्र कहिल्यै फर्कँदैन।”
पूर्वउपकुलपति जगमान गुरुङले ज्ञानेन्द्र शाहको कुण्डलीमा राजतन्त्र फर्किने सङ्केत देखिएको भनाइलाई खण्डन गर्दै ओलीले भने, “ज्योतिषीहरूले मेरो पनि कुण्डली हेर्न सक्छन्। तर, सत्य के हो भने हामी राजतन्त्रविरुद्ध लडेका योद्धा अहिले पनि यही देशमा छौँ। त्यसकारण प्रतिगमनको सपना देख्नु व्यर्थ छ।”
प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूले ‘प्रधानमन्त्री भाग्न हेलिकप्टर मगाउने तयारीमा छन्’ भन्ने प्रकारका अनर्गल टिप्पणी गरिरहेकोप्रति कडा आपत्ति जनाए। उनले भने, “यस्ता कुचेष्टा र षड्यन्त्रलाई हामी धुलो पिठो बनाइदिन्छौं। युवाहरू तयार रहनुपर्छ, जुनसुकै बेला प्रतिगामी शक्तिको प्रतिकार गर्न अग्रसर हुनुपर्छ।”
उनले एमालेमाथि भित्र–बाहिरबाट आक्रमण भइरहेको उल्लेख गर्दै भने, “यदि एमालेले गल्ती गरेको भए आज हामी यहाँ हुने थिएनौं। हामी सुशासन, स्थिरता र विकासका निम्ति प्रतिबद्ध छौं। एमालेको पक्षमा बोल्नेहरूमाथि झोलेको आरोप लगाइन्छ, तर म सबैलाई अपील गर्छु— भ्रम र अन्योलमा नपरी आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्।”
ओलीले एमालेका योगदानलाई विस्मृत गर्ने र नेतृत्वमाथि झूठा आरोप लगाउने अभियानहरू तीव्र बनेको बताउँदै यस्ता भ्रम चिर्न राष्ट्रप्रेमीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले चेतावनी दिए, “राजनीतिक अनुभव नभएका व्यक्तिका हातमा शासन जाँदा देश अस्थिर बन्छ। स्थायित्व र सुशासन कायम गर्न एमाले–कांग्रेस गठबन्धन बनेको हो।”
अन्त्यमा, उनले वर्तमान सरकार १४ महिनापछि स्वतः राजीनामा गरेर सत्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने र त्यसपछि निर्वाचनमा जाने योजना स्पष्ट पारे।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया