काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिलाई निरन्तर यात्रा भन्दै त्यसमा गरिएको त्यागको मूल्य खोज्न नहुने धारणा व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै गुरुङले राजनीतिमा “के पाएँ, के गुमाएँ” भन्ने हिसाबकिताब गरेर बस्न नहुने बताए।
उनले भने, “राजनीतिमा आफ्नो गन्तव्य र लक्ष्य स्पष्ट हुनुपर्छ। त्यो लक्ष्य भनेको व्यक्तिगत नभई देश र जनताको हितमा आधारित हुनुपर्छ। त्यसलाई प्राप्त गर्न अटल र निरन्तर रूपमा अघि बढिरहनु आवश्यक छ।”
गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवाको राजनीतिक यात्रा उदाहरणीय रहेको उल्लेख गर्दै देउवाले राजनीतिक जीवनमा देखिएका अनेकौं उतारचढाव पार गर्दै पाँच पटक प्रधानमन्त्री बन्न सफल भएको र आगामी दिनमा पनि त्यो अवसर आउन सक्ने बताए।
उनले थपे, “उहाँले राजनीति यात्रामा जुन अडिगता देखाउनुभयो, त्यो आफैँमा प्रशंसनीय छ। त्यो अटलता, त्यो समर्पण नै हो जसले उहाँलाई पटक–पटक प्रधानमन्त्री बनायो। फेरि पनि बन्न सक्नुहुन्छ। राजनीतिक यात्रा त्यस्तै हो—जहाँ निरन्तरता नै सफलता हो।”
उपसभापति गुरुङले राजनीतिमा आँधीबेहरी आउनु स्वाभाविक भएको बताउँदै ती चुनौतीहरू पार गर्दै अघि बढ्न सक्नुपर्छ भन्ने विचार राखे। उनले राजनीतिमा गरिएको त्यागलाई “के पाएँ?” भनेर मूल्यांकन गर्न खोज्नु गलत रहेको स्पष्ट पारे।
“त्याग भनेको त्याग नै हो, त्यसको मूल्य हुँदैन। राजनीतिमा कहिले कहाँ पुगिन्छ थाहा हुँदैन, तर निरन्तर अघि बढिरहनु पर्छ,” गुरुङको भनाइ थियो।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया