धनुषा । गृहमन्त्री तथा नेपाली कांग्रेसका सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पार्टी गम्भीर रूपमा लागेको बताएका छन्।

शनिबार जनकपुरधाममा आयोजित कांग्रेस मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै मन्त्री लेखकले लामो समयदेखि कांग्रेसको सरकार बन्न नसकेकोमा नेता तथा कार्यकर्ताहरूको गुनासो जायज रहेको स्वीकार गरे। उनले कांग्रेसले संघीय सरकारसहित प्रदेश सरकारमा पनि नेतृत्व गर्ने दिशामा दृढता साथ काम गरिरहेको स्पष्ट पारे।

advertisement

“मधेस प्रदेशमा पालो-पालो सरकार सञ्चालन गर्ने विषयमा समझदारी भइसकेको छ,” उनले भने, “समय आएपछि सरकार परिवर्तन हुन्छ। यसबारे केन्द्रमा गम्भीर छलफल भइरहेको छ र हामी समाधानतर्फ लागिरहेका छौं।”

लेखकले नेपाली कांग्रेस र एमालेबीचको सत्ता साझेदारीले केही जटिलता सिर्जना गरे पनि त्यसलाई संयन्त्रमार्फत समाधान गर्ने प्रयास भइरहेको बताए। “एउटै पार्टीको सरकार चलाउँदा पनि कठिनाइ हुन्छ,” उनले भने, “अब त दुई प्रतिस्पर्धी दलबीचको साझा सरकार हो, स्वाभाविक रूपमा केही चुनौतीहरू आउँछन्, तर हामी त्यसलाई व्यवस्थापन गर्दै अघि बढिरहेका छौं।”

उनले केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्म संयुक्त संयन्त्र निर्माण गरिएको जानकारी दिँदै समन्वयमा आधारित शासन प्रणालीको अभ्यास भइरहेको उल्लेख गरे।

त्यसैगरी, पछिल्ला १० महिनामा मुलुकको अर्थतन्त्रमा उल्लेखनीय सुधार आएको दाबी पनि उनले गरे। “अर्थतन्त्रमा ठूलो परिवर्तन आएको छ,” लेखकले भने, “यो सरकारको प्रयासले संभव भएको हो।”

प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com