पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी एक वर्षभित्र देश माओवादीमय बन्ने दाबी गरेका छन्। उनले आउँदो निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने विश्वाससमेत व्यक्त गरे।
शनिबार पोखरामा आयोजित एक विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको कार्यकर्ता र नेताहरूलाई जनतासमक्ष माओवादीले गरेका काम र भावी योजनाबारे प्रस्ट रूपमा बुझाउने निर्देशन दिए।
उनले भने, “हामीले आफ्नो क्षेत्रमा के गर्यौं? के गर्न चाहन्छौं? जनतालाई सुशासन, समृद्धि र सामाजिक न्याय कसरी दिन चाहन्छौं भनेर जनतालाई बुझाउन सकेमा एक वर्षभित्र देशभर माओवादीको प्रभाव विस्तार हुनेछ। माओवादी केन्द्र फेरि एक नम्बर पार्टी बन्नेछ र समाजवादको आधार मजबुत हुनेछ।”
प्रचण्डले आफ्नो १८ महिने कार्यकालमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियान अघि बढाएको उल्लेख गर्दै भारत र चीन भ्रमणबाट भएका दीर्घकालीन सम्झौताहरूले मुलुकको विकास र समृद्धिको आधार तय भएको दाबी गरे।
उनले संविधान संशोधन गरी देशलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको शासन प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याए। “संविधान निर्माणको बेला हामीले नै भनेका थियौं— अहिलेको व्यवस्था स्थायित्व र समृद्धिका लागि पर्याप्त छैन। यदि सबै वर्ग, समुदाय, क्षेत्र र पहिचानलाई समेटेर स्थायित्व कायम गर्न चाहिन्छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक छ,” उनले स्पष्ट पारे।
प्रचण्डले संविधान निर्माणको क्रममा कांग्रेस–एमालेको असहमतिका कारण प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रस्ताव अगाडि बढ्न नसकेको र त्यसकै कारण संविधान नै नबन्ने जोखिम देखिएको स्मरण गराए। उनले त्यतिबेला “नोट अफ डिसेन्ट” लेखेर आगामी दिनमा संशोधन गर्ने सर्त राखेको पनि खुलासा गरे।
“१० वर्षपछि संविधानको पुनरावलोकन गर्ने समयमा हामी जनतामाझ यो प्रस्ताव लिएर जानेछौं,” उनले भने, “संविधान र निर्वाचन प्रणाली दुवैलाई जनताको चाहना अनुसार संशोधन गर्न जरुरी छ।”
उनले अहिलेको निर्वाचन प्रणालीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै भने, “संघीय लोकतान्त्रिक गणतन्त्र एक रूपको छ, तर निर्वाचन प्रणाली अर्कै। यो बीचमा विरोधाभास देखिन्छ। त्यसैले हामी निर्वाचन प्रणालीमा समेत सुधार चाहन्छौं।”
प्रचण्डले माओवादीबाहेक कुनै पनि पार्टीबाट समाजवादको स्पष्ट दिशा आउन नसक्ने दाबी गर्दै माओवादीले मात्र वैचारिक, राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट समाजवादी क्रान्तिको नेतृत्व गर्नसक्ने जिकिर गरे।
“हामी अहिले तराई–मधेश जागरण अभियान र मध्यपहाडी लोकमार्ग अभियानमार्फत देशव्यापी जनसम्पर्कमा छौं,” उनले भने, “यही अभियानमार्फत हामी शहीद, बेपत्ता र घाइते परिवारसँग पुनः सम्बन्ध गाँसीरहेका छौं।”
कार्यक्रमको अन्त्यतिर उनले नेता कार्यकर्तालाई गम्भीर आत्मसमीक्षा गर्दै परिवर्तनको अभियानमा समर्पित भएर लाग्न आह्वान गरे। “नेपालमा राजनीतिक स्थायित्व, भ्रष्टाचारको अन्त्य र आर्थिक समृद्धि सुनिश्चित गर्न माओवादीको काँधमा जिम्मेवारी आएको छ,” भन्दै उनले नयाँ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया