काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेको छ। शनिबार भर्चुअल माध्यमबाट बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले ‘भिजिट भिसा’ प्रकरणमा निष्पक्ष छानबिन सुनिश्चित गर्न मन्त्री लेखकले पद त्याग गर्नुपर्ने माग गरेको हो।
बैठकपछि कार्यबाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगतमा स्वयम् सांसद लेखकले नै संसदमा प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ भन्ने दृष्टान्त प्रस्तुत गर्नुभएको थियो। आज सोही आधारमा उहाँले गृहमन्त्रीको पदबाट राजीनामा दिनु उपयुक्त हुन्छ भन्ने हाम्रो माग हो।”
विज्ञप्तिमा भनिएको छ कि गृहमन्त्री तथा उनको सचिवालय भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा संलग्न रहेको भन्ने गम्भीर आरोप सार्वजनिक भइसकेकाले यस विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान अपरिहार्य भएको छ।
यता, गृह मन्त्रालयले भने शनिबार नै एक विज्ञप्ति जारी गर्दै मन्त्री लेखकको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। मन्त्रालयले अख्तियार लगायतका सम्बन्धित निकायबाट हुने सबै प्रकारका अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया