भारत । भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फेरि विस्तार हुन थालेको देखिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्ला केही हप्तादेखि कोरोनाको संक्रमण दर पुनः वृद्धि भइरहेको छ।
टाइम्स अफ इन्डियाले सरकारी तथ्यांकलाई उद्धृत गर्दै कोरोना संक्रमण मे महिनादेखि उल्लेख्य रूपमा बढ्न थालेको जनाएको छ। गत महिनासम्म घट्दो अवस्थामा रहेको संक्रमण मे महिनाको सुरुतिरबाट क्रमशः बढ्दै गएको छ। हालसम्म भारतभर सक्रिय संक्रमितको संख्या २५७ पुगेको छ। केवल मे १२ पछिमात्रै १६४ जना नयाँ संक्रमित थपिएका छन्।
दिल्लीमा अघिल्लो साता दुई संक्रमितको मृत्युसमेत भएको जनाइएको छ। यद्यपि मृतकहरूमा अन्य रोगहरू पनि रहेको बताइएको छ।
केरल, तामिलनाडु र महाराष्ट्र अहिले सबैभन्दा बढी प्रभावित राज्यको रूपमा चिनिएका छन्। देशभरका कुल संक्रमितमध्ये ८५ प्रतिशत संक्रमित यही तीन राज्यमा छन्। हाल केरलमा ९५, तामिलनाडुमा ६६ र महाराष्ट्रमा ५६ जना सक्रिय संक्रमित रहेका छन्।
अन्य राज्यहरूमा पनि संक्रमण देखिएको छ — दिल्लीमा २३ जना, पुडुचेरीमा १० जना, कर्नाटकमा १३ जना, गुजरातमा ७ जना, राजस्थानमा २ जना, र हरियाणा, सिक्किम तथा पश्चिम बंगालमा १/१ जना सक्रिय संक्रमित छन्।
केरलमा एकैपटक ६६ जना नयाँ संक्रमित पुष्टि भएको छ, तर उनीहरू कसैलाई पनि अस्पताल भर्ना गर्न नपरेको र अवस्था चिन्ताजनक नरहेको बताइएको छ।
भारतमा कोरोना महामारी सुरु भएयता करिब साढे चार करोड मानिस संक्रमित भएका थिए भने पाँच लाख ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
सिङ्गापुर र हङकङमा पनि कोरोनाको संक्रमण दर बढ्दै गएको रिपोर्ट आएको छ। हाल देखिएको नयाँ भेरियन्ट ओमिक्रोन समूहको जेएन.१ हो, जसको संक्रमण यसअघि नेपालमा पनि भेटिएको थियो।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया