काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक जीवनमा अहिलेसम्म कुनै पनि आर्थिक अनियमितता नगरेको दाबी गर्दै यदि एउटा पनि आरोप प्रमाणित भए पद मात्र होइन, सम्पूर्ण राजनीतिबाटै राजीनामा दिने घोषणा गरेका छन्।

शनिबार साँझ काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग सम्बन्धित विषयमा आफूविरुद्ध नियोजित रुपमा झुटा र षड्यन्त्रपूर्ण प्रचार भइरहेकाले सत्य तथ्य चाँडै सार्वजनिक गर्ने जानकारी दिए।

advertisement

“मप्रति नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचार भइरहेका छन्,” मन्त्री लेखकले भने, “अध्यागमनको भिजिट भिसा प्रकरण मात्र होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटामात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म केवल पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु।”

उनले आफूले यसबारे थप स्पष्ट पार्नका लागि आगामी जेठ १३ गते प्रतिनिधिसभामा समय लिइसकेको र त्यस अवसरमा विस्तृत रुपमा जानकारी दिने बताए।

मन्त्री लेखकले गृह मन्त्रालयमा लाखौं कर्मचारी कार्यरत रहेको उल्लेख गर्दै जुनसुकै बेला कुनै पनि कर्मचारी अनुसन्धानको दायरामा पर्न सक्ने बताए। उनले अनुसन्धान थालिए मात्रकै आधारमा मन्त्रीले राजीनामा दिनुपर्ने परिपाटी बसाल्न नहुने तर्कसमेत प्रस्तुत गरे।

‘गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन, लाखमा कर्मचारी छ । यत्रा कर्मचारीमा कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ,’ उनले भने, ‘अनि कुनै पनि कर्मचारीकामाथि अनुसन्धान सुरु हुँदैगर्दा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो ? त्यही पद्धति बसाउने जाने हो ? आजसम्म त्यस्तो भएको छ ?’

प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com