काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरलाई मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले स्पष्टीकरण सोधेको छ। नगर प्रहरी प्रमुख राजु पाण्डेलाई सोधिएको स्पष्टीकरणपछि मानन्धरलाई पनि सोधिएको हो।
स्रोतका अनुसार अभिव्यक्ति स्वतन्त्रताको सीमा नाघेर व्यक्तिगत चरित्र हत्या गर्ने, सामाजिक प्रतिष्ठामा आँच पुर्याउने कार्यमा संलग्न भएको आरोपमा स्पष्टीकरण सोधिएको हो।
प्रवक्ता मानन्धरले आफूलाई फोनमार्फत स्पष्टीकरण लिन बोलाइएको पुष्टि गर्दै भने, “मलाई फोन आएको थियो, तर म पत्र लिन जान्न।”
पछिल्लो समय मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक आह्वान नगरेको भन्दै आलोचना हुँदै आएको छ। २०८१ चैत १० गते नेपाली कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले कार्यपालिका बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराउने क्रममा मानन्धरसहित केही वडाध्यक्षले मुख्य भूमिका खेलेका थिए। उनीहरूले मेयर बालेनको एकल निर्णयप्रणालीको विरोध जनाउँदै महानगर समन्वयका लागि सामूहिक नेतृत्व आवश्यक रहेको बताउँदै आएका छन्।
यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि स्पष्टीकरण सोधिसकेका थिए।
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया