काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाका विषयमा नेपाली कांग्रेसभित्र मतभेद देखिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसाका नाममा सेटिङ गरिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै छापा मारी प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईसहित महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएपछि सो प्रकरणले गृहमन्त्री लेखकमाथि नै प्रश्न उठाएको हो।

advertisement

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री लेखकको राजीनामा औपचारिक रूपमा माग गरिसकेको छ। तर, कांग्रेसभित्र भने उनको राजीनामाबारे दुईधार देखिएको छ। पार्टीको संस्थापन पक्ष मन्त्री लेखकको पक्षमा उभिएको देखिन्छ भने इतर समूह भने राजीनामा दिएर निष्पक्ष छानबिनको मार्ग खुला गर्नुपर्नेमा अडिग छ। लेखक कांग्रेसभित्रकै संस्थापन पक्षीय नेताका रूपमा चिनिन्छन्।

इतर समूहका नेता डा. शेखर कोइरालाले शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने सुझाव दिए। उनले विगतका केही मन्त्रीहरूले नैतिकताका आधारमा राजीनामा दिएर छानबिनमा सहयोग गरेको उदाहरण प्रस्तुत गर्दै अहिले पनि त्यस्तै मार्ग अपनाउनु उचित हुने बताए।

‘मैले केही गल्ती गरेको छैन, नैतिकताको आधारमा राजीनामा दिन तयार छु। छानबिन समिति बनाउनुहोस्, म सघाउँछु। यसबाट एक सकारात्मक सन्देश जान्छ,’ डा. कोइरालाले भने।

तर, आइतबार संस्थापन पक्षका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गृहमन्त्रीको राजीनामा माग्नु गलत नजिर बन्ने चेतावनी दिए। विराटनगरमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यागमन विभागको कुनै कर्मचारीको व्यक्तिगत त्रुटिलाई लिएर मन्त्रीमाथि जिम्मेवारी थोपर्न नहुने तर्क गरे।

‘विगतमा मन्त्रीमाथि प्रत्यक्ष आरोप लागेका घटनामा राजीनामा दिएका उदाहरण छन्,’ सिटौलाले भने, ‘तर यो प्रकरणमा मन्त्रीमाथि होइन, कर्मचारीमाथि आरोप लागेको छ। अख्तियारले छानबिन गरिरहेकाले नतिजा नआउँदासम्म आंशिक आरोपका भरमा राजीनामा माग्नु गलत हुन्छ।’

यसबीच, नेपाली कांग्रेसले यो प्रकरणमा पार्टीको औपचारिक धारणा भने अझै सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com