काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सहकारी काण्डमा संलग्न लुटेरा र ठगहरूले नै अहिले एमालेमाथि आरोप लगाउँदै जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
आइतबार आयोजित बागमती प्रदेशस्तरीय एमाले वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले सहकारीमा भ्रष्टाचार गरेको जस्तो प्रचार गरी नियोजित रूपमा पार्टीको छवि बिगार्न खोजिएको बताए। उनले भने, “हाम्रो पार्टीले सहकारी काण्डमा संलग्न भएको जस्तो गलत प्रचार भइरहेको छ। सहकारी, सहकारी भन्दै हामीमाथि अनाहकमा आरोप लगाइँदैछ।”
ओलीले सहकारीको वास्तविक लुटेरा र ठगहरू नै अहिले आफूलाई निर्दोष देखाउँदै न्यायको नाममा ठूलो आवाजमा बोलेको भन्दै आलोचना गरे। उनले भने, “जसले सहकारी लुटे, तिनै अहिले सहकारी पीडितलाई न्याय दिन्छौं भनेर बेशरम भाषण गरिरहेका छन्। आफूले खाएको तिर्दैनन्, फिर्ता गर्दैनन्, अनि भ्रष्टाचारविरुद्ध ठूला कुरा गर्छन् — कति निर्लज्जता!”
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति पनि व्यंग्य गर्दै भने, “प्रचण्डको शैली हेर्नुस् त — भ्रष्टाचारविरुद्ध बुरुकबुरुक उफ्रिन्छन्। अहिले त भ्रष्टाचारीहरू नै भ्रष्टाचारविरुद्ध भाषण गर्ने अवस्था आएको छ।”
ओलीले माओवादी केन्द्रले एमालेको सिको गर्दै सुरु गरेको मेची–महाकाली अभियान जनसमर्थन जुटाउन असफल भएको टिप्पणी गरे। उनले भने, “एमालेको अभियानमा जनसागर उर्लिन्छ, तर माओवादीको कार्यक्रममा त्यो देखिँदैन।”
त्यसक्रममा उनले २०६४ सालको निर्वाचनको स्मरण गर्दै भने, “त्यो समय माओवादीले जनताको समर्थनले होइन, डर, त्रास, आतंक र बलपूर्वक मत बटुलेर जितेको हो। लडाकुहरू क्याम्पमा राखेर, मानिसहरूलाई तर्साएर, कुटपिट गरेर चुनाव जितेका थिए। त्यो माओवादीमय अवस्था थिएन।”
ओलीले निष्कर्षमा भने, “अब न २०६४ सालको अवस्था दोहोरिन्छ, न माओवादीले त्यस्तै समर्थन पाउँछ। जनताले बुझेका छन् — माओवादीले काम गरेर मत जितेको थिएन, लुटपाट गरेर थियो। अब त्यो इतिहास दोहोरिँदैन।”
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया