काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो जेठ १५ गतेका लागि पार्टीका कार्यकर्तालाई विशेष तयारीमा रहन निर्देशन दिएका छन्। उनले सो दिन दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौंलाई पूर्णरूपमा एमालेको नियन्त्रणमा राख्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसअनुसार कार्यकर्तालाई सतर्क रहन आह्वान गरेका हुन्।

राजावादी पक्षले जेठ १५ गते काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेसँगै ओलीले सोही समयमा त्यसलाई चुनौती दिनुपर्ने बताएका छन्। आइतबार एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै उनले सो तयारी प्रशिक्षणपछिबाट सुरु गर्न निर्देशन दिएका हुन्।

advertisement

“१५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको उपस्थिति बलियो देखिनुपर्छ। कुन संस्थाले आयोजना गर्छ, त्यो हेर्नु पर्दैन। मुख्य कुरा हाम्रो नियन्त्रण र सक्रियता हो,” ओलीले भने।

उनले थपे, “प्रशिक्षण सकिएलगत्तै १५ गतेका लागि तयारी सुरु गर्नुहोस्। निर्देशन पछि आउँछ, तर मानसिक रूपमा तयार रहनुहोस्।”

ओलीले आन्दोलनका बेला कुनै प्रोटोकलको औचित्य नहुने पनि स्पष्ट पारे। “आन्दोलनमा कुनै प्रोटोकल हुँदैन, सभा वा बैठकजस्तो होइन। सबै एकजुट भएर अघि बढ्नुपर्छ,” उनले भने।

प्रधानमन्त्री ओलीले राजावादीहरू कुनै उच्च उद्देश्यका लागि होइन, व्यक्तिगत स्वार्थका लागि सक्रिय भएको आरोप समेत लगाए। उनले सरकार र जनताको मौनतालाई उनीहरूले दुरुपयोग गरिरहेको भन्दै सजग हुन कार्यकर्तालाई सचेत गराए।

“यिनीहरू महान उद्देश्यका लागि होइन, साना स्वार्थका लागि आन्दोलन गरिरहेका छन्। हामी चुप छौं भनेर उनीहरू फूर्ति देखाइरहेका छन्। त्यसैले हामी एकढिक्का भएर अघि बढ्नुपर्छ,” उनले भने।

ओलीले अन्त्यमा भने, “१५ गते के गर्ने भन्ने ठोस निर्देशन पार्टीबाट आउनेछ, तर तपाईंहरू आजैदेखि तयार रहनुहोस्।”

यसरी प्रधानमन्त्री ओलीले जेठ १५ गतेका लागि एमाले कार्यकर्तालाई पूर्वतयारीमा रहन स्पष्ट सन्देश दिएका छन्।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com