काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भनिएको अनियमितताको विषयमा छानबिनको माग चुलिँदै जाँदा सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निष्पक्ष छानबिनको आवश्यकता रहेको बताएका छन्।

आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको नेकपा (एमाले) सचिवालय बैठकअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले अध्यागमनमा देखिएको अनियमितताको विषयमा प्रतिक्रिया दिएका हुन्।

advertisement

“इमिग्रेशनमा जुन प्रकारको अनियमितता भएको छ, त्यसमा छानबिन सुरु भइसकेको छ। त्यसलाई निष्पक्षरूपमा अघि बढ्न दिनुपर्छ,” गुरुङले भने।

उनलाई एक सञ्चारकर्मीले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग तीव्र बनेको विषयमा सोध्दा, गुरुङले प्रतिप्रश्न गर्दै भने, “एउटा तीर्थ भट्टराई पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउँछ त?”

यही विषयमा गृहमन्त्री लेखकको संलग्नता देखिएको भन्दै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेखकको राजीनामा माग गर्ने निर्णय गरिसकेको छ।

यता, गृहमन्त्री लेखकले भने आफूमाथि लागेका आरोप प्रमाणित भए आफू राजनीति नै त्याग्ने घोषणा गरेका छन्।

यसैबीच, एमाले सचिवालयको बैठक अहिले पनि च्यासलस्थित पार्टी कार्यालयमा जारी छ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com