काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग भएको नौ बुँदे सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पन्तले आर्थिक रूपमा सरकार चापमा रहे पनि शिक्षकसँगको सहमति शिक्षा विधेयकमा समावेश गर्न निरन्तर वार्ता भइरहेको जानकारी दिए।

advertisement

‘हाल सरकारमाथि ठूलो आर्थिक भार छ, तर शिक्षक महासंघसँगको नौ बुँदे सहमति कार्यान्वयनका लागि हामी गम्भीर छौं,’ मन्त्री पन्तले भने, ‘सहमतिको विधेयकमा कानुनी आधार कसरी तयार गर्ने भन्ने विषयमा छलफल जारी छ।’

उनले सरकार सहमतिलाई विधेयकमा समेट्ने विषयमा लचिलो रहेको स्पष्ट पार्दै चाँडै निष्कर्षमा पुगिने विश्वास व्यक्त गरे। ‘७–८ दिनभित्र महासंघसँग ठोस सहमति हुने अपेक्षा छ,’ मन्त्री पन्तले थपे।

मन्त्री पन्तले शिक्षकका माग सम्बोधन गर्दा सरकारलाई थप आर्थिक भार पर्ने भएकाले शिक्षा मन्त्रालय मात्रले निर्णय गर्न नसक्ने उल्लेख गरे। उनले आगामी छलफलमा अर्थ मन्त्रालयका प्रतिनिधि अनिवार्य रूपमा सहभागी गराउनु पर्ने सुझावसमेत दिए।

‘यो विषयमा आर्थिक पक्ष मुख्य हुन्छ, त्यसैले अर्थमन्त्री, सचिव वा सम्बन्धित कर्मचारीलाई छलफलमा समावेश गर्नुपर्छ,’ मन्त्री पन्तले भने, ‘शिक्षा मन्त्रालय एक्लै आर्थिक जिम्मेवारी लिन सक्दैन।’

मन्त्री पन्तले शिक्षक महासंघलाई अन्योलमा पार्ने कुनै नियत नभएको स्पष्ट पार्दै सहमति कार्यान्वयनको दिशामा सरकार गम्भीर रूपमा अघि बढिरहेको बताए।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com