काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सशक्त बहुमतको दिशामा रहेको नेकपाको विभाजन गरेर देश निर्माणको अभियानमा बाधा पुर्‍याउन खोजिएको आरोप लगाएका छन्।

ललितपुरमा आइतबार आयोजित नेकपा (एमाले) वागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा नेता झलनाथ खनालमाथि गम्भीर आरोप लगाएका हुन्।

advertisement

ओलीले प्रचण्डले आफूले कम्बोडियामा ३२ अर्ब रुपैयाँ लगानी गरेको झुटो हल्ला फिँजाएर जनतामाझ भ्रम सिर्जना गर्न खोजेको दाबी गरे। उनले माधव नेपाल र झलनाथ खनालले पनि त्यही हल्लालाई समातेर आफूलाई बदनाम गर्न खोजेको आरोप लगाए।

उनले २०६४ सालमा माओवादीले आफ्ना लडाकुहरू क्याम्पमा राखेर मार्चपास गराउँदै जनतालाई डर त्रासमा राखी चुनाव जितेको स्मरण गराउँदै अहिले पनि त्यस्तै सपना देख्नु निरर्थक भएको बताए। “त्यो बेला आतंक फैलाएर जितिएको थियो, अहिले त्यसले काम गर्दैन,” ओलीको भनाइ थियो।

वडाध्यक्षहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई छिटो, सहज सेवा उपलब्ध गराउने, विकास र सुशासन प्रवर्द्धन गर्ने क्रममा सबै राजनीतिक दल तथा समूहसँग समन्वय गर्दै अगाडि बढ्न निर्देशन दिए।

उनले पार्टीविरुद्ध भएका सबै षड्यन्त्रलाई परास्त गर्दै एमाले अझ सशक्त रूपमा अघि बढ्ने दाबी पनि गरे।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com