एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शनिबार आएको भीषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको छ। उक्त हावाहुरीका कारण १९ जनाको ज्यान गएको छ भने ९० भन्दा बढी मानिस घाइते भएका छन्।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडिएमए) ले आइतबार सार्वजनिक गरेको विवरणअनुसार, मृतकहरू प्रायः कच्ची वा कमजोर संरचनाका घरमा बसोबास गर्नेहरू थिए। ती घरका पर्खाल र छाना ढल्दा मानिसहरू मलिनामा परेका थिए।
हावाहुरी र असिना पानीका कारण रूखहरू ढलेका छन्, पर्खाल भत्किएका छन्, सडक किनारका विज्ञापन बोर्डहरू उखेलिएका छन्, र थुप्रै स्थानमा सौर्य प्यानलहरूसमेत क्षतिग्रस्त भएका छन्।
प्राकृतिक प्रकोपका कारण प्रान्तभर यातायात प्रणाली प्रभावित भएको छ। धेरै सडक बन्द गर्नुपरेको छ भने प्रमुख राजमार्गहरूमा आवागमन अवरुद्ध भएको छ। मौसमको खराबीका कारण यस्तो निर्णय गरिएको प्रहरी स्रोतले जनाएको छ।
पञ्जाबको राजधानी लाहोरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पनि हावाहुरीको असर देखिएको छ। कराँचीबाट लाहोर आउँदै गरेको एक निजी जहाज अवतरणको क्रममा तीव्र हावाहुरीमा परेको थियो, जसले यात्रुहरूमा त्रास फैलाएको थियो।
उक्त स्थितिलाई ध्यानमा राख्दै पाइलटले जहाजलाई लाहोरमा अवतरण नगरी पुनः कराँची फिर्ता लैजाने निर्णय गरेका थिए। त्यस्तै, अन्य धेरै उडानहरू ढिलाइ भएका खबरहरू आएका छन्।
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया