काठमाडौं । १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जनकमाण्डरको रूपमा चिनिएका दुर्गा प्रसाईंले आफू घटनास्थलमा पुग्नुअघि नै प्रदर्शन बिथोलिएको दाबी गरेका छन्।
सरकारी वकिलको रोहबरमा प्रहरीसमक्ष दिएको बयानमा प्रसाईंले भनेका छन्, “म कार्यक्रमस्थलमा पुग्नुअगावै अतिथिहरूले आसन ग्रहण गरिसकेका थिए। राष्ट्रिय गान बज्न थालेपछि नै स्टेजमा टियरग्याँस प्रहार र गोलीचालन सुरु भइसकेको थियो, जसका कारण मान्छेहरू भागाभाग गर्न थालेका थिए। त्यसैले मेरो त कार्यक्रममा कुनै सक्रिय भूमिका नै थिएन।”
प्रसाईंका अनुसार प्रारम्भमा उनी कार्यक्रम स्थलमा जाने स्थिति नै थिएन। नवराज सुवेदीको नेतृत्वमा गठित समितिले नै कार्यक्रमको पूर्ण जिम्मेवारी लिएको भन्दै उनले थपे, “दुवै संस्थाको संयुक्त ब्यानरमा कार्यक्रम गर्ने निर्णयअनुसार तयारी र योजना गरिएको थियो।”
त्यसैक्रममा, प्रसाईंले सरकारले एक हप्ताभित्र मागहरू पुरा नगरे नेपाल बन्दजस्ता आन्दोलनका कार्यक्रम गर्ने योजना रहेको बताए। उनले आफूले संविधानले तोकेको सीमाभित्र रहेर मात्र काम गरेको दाबी गरे।
“मैले कुनै पनि कार्य संविधानबाहिर गएर गरेको छैन, म सधैं संविधानको दायराभित्र रहेर अघि बढेको छु,” उनले भने।
पूर्वराजा ज्ञानेन्द्र शाहसँगको सम्बन्धबारे उनले विगत पाँच वर्षदेखि नियमितरूपमा भेटघाट हुँदै आएको बताए। १५ चैतको प्रदर्शनको अघिल्लो दिन पनि उनीहरूबीच भेट भएको खुलासा उनले गरे।
“पूर्वराजासँग मेरो भेट निजी सचिवमार्फत हुने गर्थ्यो,” प्रसाईंले भने, “म उहाँलाई पटक–पटक भेट्न जान्थेँ, किनकि यो देश पृथ्वीनारायण शाहले एकीकृत गर्नुभएको हो, त्यसैले उहाँ (ज्ञानेन्द्र) पुनः नेतृत्वमा आउनुपर्छ भन्ने सोचले भेट गर्दै आएको हुँ।”
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया