काठमाडौं । राजसंस्था पुनर्स्थापनाका पक्षमा आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्लै जेठ १५ गते राजधानीका सडकमा हिँडेर देखाउन चुनौती दिएको छ।
आज जारी गरिएको विज्ञप्तिमा समितिका प्रवक्ता स्वागत नेपालले प्रधानमन्त्री ओलीलाई सो दिन कुनै सुरक्षा घेरा, आफ्ना समर्थक वा सुरक्षाकर्मी बिना एक्लै राजधानीमा हिँड्न सक्ने हिम्मत छ कि छैन भनेर प्रश्न उठाएका छन्।
प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा राजसंस्था पक्षधर आन्दोलनलाई निस्तेज पार्ने अभिव्यक्ति दिएका थिए। त्यसको जवाफस्वरूप समितिले विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई ‘धम्कीपूर्ण’ भनेको छ।
विज्ञप्तिमा भनिएको छ, “राजधानी कब्जा गर्ने अभिव्यक्ति दिने प्रधानमन्त्री ओली स्वयं सुरक्षाकर्मीको कब्जामा मात्र सुरक्षित देखिनुहुन्छ। देश उहाँको नियन्त्रणमा छैन भन्ने कुरा उहाँको भनाइले पुष्टि गरेको छ।”
समितिले आफ्नो आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने स्पष्ट पारेको छ। साथै, संवैधानिक राजसंस्थासहितको लोकतान्त्रिक व्यवस्था निर्माणका लागि प्रधानमन्त्री ओलीलाई आत्मसमर्पण गर्न सुझावसमेत दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “संविधानसम्मत राजसंस्था पुनःस्थापनाका पक्षमा भइरहेको हाम्रो आन्दोलनमा प्रधानमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिनु लोकतान्त्रिक मूल्य र जनभावनाको अपमान हो।”
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया