काठमाडौं । संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै जेठ १५ गतेदेखि आन्दोलन सुरु गर्ने तयारीमा रहेको राजावादी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई आपत्तिजनक र उत्तेजनात्मक भन्दै विरोध जनाएका छन्।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा आइतबार प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, संविधान तथा लोकतन्त्रको मर्म विपरीत र द्वन्द्व भड्काउने खालको रहेको उल्लेख छ।
प्रधानमन्त्री ओलीले आइतबार आफ्नो पार्टीका कार्यकर्तालाई जेठ १५ गते काठमाडौं नियन्त्रणमा लिन निर्देशन दिएको अभिव्यक्ति दिएका थिए। यसप्रति आपत्ति जनाउँदै संयोजक सुवेदीले भनेका छन्, “प्रधानमन्त्रीको भूमिका शान्ति, संविधानको संरक्षण र जनताको सुरक्षामा केन्द्रित हुनुपर्ने हो, तर उहाँको अभिव्यक्ति शंकास्पद, भडकाउ र अत्यन्त आपत्तिजनक छ।”
विज्ञप्तिमा संयुक्त जनआन्दोलन समितिले भ्रष्ट व्यवस्था र सर्वसत्तावादी शासनविरुद्धको आन्दोलन पूर्णरूपमा शान्तिपूर्ण, भद्र अवज्ञा र सत्याग्रहमा आधारित हुने स्पष्ट पारेको छ।
समितिले सरकारको दमनकारी सोचको विपक्षमा जनताको सहभागितामा आधारित लोकतान्त्रिक आन्दोलनलाई थप बलियो बनाउने जनाएको छ।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया