काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ।
स्वास्थ्य मन्त्रालयद्वारा सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार देशभर सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ।
हाल भारतभर एक हजार नाै जना सक्रिय संक्रमित रहेका छन्। यो संख्या वर्ष २०२५ मा पहिलोपटक एक हजार पार गरेको हो। तीमध्ये ७५२ केस हालै थपिएका हुन्, जसले संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेको संकेत गर्छ।
संक्रमणको दर केरल, महाराष्ट्र, दिल्ली र कर्नाटकजस्ता राज्यहरूमा उच्च देखिएको छ। केरलमा सबैभन्दा धेरै ४३० सक्रिय केस भेटिएका छन्। त्यसपछि महाराष्ट्रमा २०९, दिल्लीमा १०४ र कर्नाटकमा ४७ जना संक्रमित रहेका छन्।
दिल्लीमा मात्र १०० भन्दा बढी नयाँ केस देखिएको भन्दै स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस पूर्ण रूपमा समाप्त भइनसकेकोले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। प्रभावित राज्यहरूमा स्वास्थ्य विभागले निगरानी र उपचार प्रक्रिया तीव्र बनाएको जनाएको छ।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया