काठमाडौं । संविधानिक राजतन्त्र पुनःस्थापना, हिन्दू राष्ट्र र संघीयता खारेजको माग गर्दै राजावादी पक्षले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेपछि देशको राजनीति पुनः ध्रुवीकृत बन्दै गएको छ। राजावादी र गणतन्त्रवादी शक्तिहरू आमनेसामने हुने संकेत देखिएको छ।
राजावादी समूहले नवराज सुवेदीको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ। सुवेदीले यो आन्दोलन कुनै दलविशेष वा सरकारविरुद्ध नभई जनताको अधिकारका लागि भएको दाबी गरेका छन्। राप्रपा, राप्रपा नेपाल लगायतका समुहले आन्दोलनमा साथ दिने जनाइएको छ।
यसै सन्दर्भमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा ओर्लिए एकै दिनमा गणतन्त्र समाप्त हुने दाबी गर्दै युवा वर्गलाई सक्रिय भूमिका लिन आह्वान गरेका छन्। लिङ्देनले भने, “देशको अवस्था जति बिग्रिए पनि नेताहरूको केही बिग्रँदैन, तर युवाको भविष्य नष्ट हुन्छ। त्यसैले अब युवाहरू नै जाग्नुपर्छ।”
राजावादी पक्षले जेठ १५ देखि देशका विभिन्न भागमा स्वतःस्फूर्त रूपमा जुलुस, धर्ना र प्रदर्शन गर्ने तयारी गरिरहेको सन्दर्भमा गणतन्त्र पक्षधर दलहरू पनि प्रतिकारका लागि मोर्चाबन्दी गर्न थालेका छन्। सत्तारूढ एमाले र माओवादी केन्द्र दुवै राजावादी आन्दोलनलाई कमजोर पार्ने रणनीतिमा जुटेका छन्।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई “राजावादी प्रतिगमनविरुद्ध” तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। उनले भने, “१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ। जुनसुकै संस्था अगाडि आए पनि, एमाले तयार रहनुपर्छ।”
ओलीले राजावादी आन्दोलनलाई ‘खाओवादी प्रवृत्ति’ को संज्ञा दिँदै ती समूहमा कुनै उच्च उद्देश्य नरहेको आरोप लगाए। उनले भने, “हिजो ‘प्राणभन्दा प्यारो राजा’ भन्दै नारा लगाउनेहरू आज पनि उही शैलीमा आन्दोलन गर्न खोजिरहेका छन्। तर राजा वीरेन्द्रको हत्या हुँदा तिनै समूह मौन थिए। यस्तो ढोंग र चापलुसी राजावादीको स्वभाव हो।”
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि राजावादी आन्दोलनलाई सशक्त प्रतिवाद गर्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै आएका छन्। उनले भने, “राजावादी र प्रतिक्रियावादीहरूको गतिविधि दिनप्रतिदिन उग्र बन्दै गएकाले सतर्कता आवश्यक छ।”
प्रचण्डले सुर्खेतमा आयोजित सभामा भने, “जेठ १५ बाट आन्दोलन घोषणा गर्नेहरू तिनै राजा र दरबार हुन् जसले जनतालाई शताब्दीयौं शोषण गरे। उनीहरूकै कारण देश संसारकै गरिब राष्ट्रमा दरिएको हो। अब उनीहरूबाट जनताको रक्षाको अपेक्षा गर्नु हास्यास्पद हुन्छ।”
उनले आगामी दिनमा हरेक गाउँ, टोलमा पुगी राजावादी भ्रम चिर्न जनता माझ चेतनामूलक अभियान सञ्चालन गर्न विशेष आह्वानसमेत गरे।
यसअघि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि सरकारको सहनशीलतालाई कमजोरी नठान्न राजावादीलाई चेतावनी दिएका थिए। मन्त्रिपरिषद्को बैठकमा आन्दोलनले अराजक रूप लिएको खण्डमा राज्य संयन्त्रबाट हस्तक्षेप गरिने निर्णयमा सहमति जुटेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया