गोरखा ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा जिल्लाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नव निर्मित भवनको उद्घाटन गरेका छन्।

समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखाको समग्र विकासप्रति आफू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे। उनले प्रधानमन्त्री रहँदा र अहिले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि गोरखाको विकासका लागि विशेष ध्यान दिएको स्पष्ट पारे।

advertisement

उनले भने, “संघीयताको प्रभावकारी कार्यान्वयन र स्थानीय तहलाई सबल बनाउन मैले प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी बारम्बार बैठकहरू आयोजना गरेको थिएँ। त्यस क्रममा धेरै सकारात्मक पहलहरू अगाडि बढाइएका थिए, तर पछि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि ती कार्यहरू अवरुद्ध भए।”

अध्यक्ष दाहालले संविधानमा उल्लेखित कतिपय अधिकारहरू अझै कार्यान्वयनमा नआएकोप्रति चिन्ता व्यक्त गरे। “गाउँ–गाउँमा सिंहदरबार” भन्ने अवधारणालाई आफूले अघि सारेको बताउँदै उनले त्यसको पूर्ण कार्यान्वयन अझै हुन नसकेको उल्लेख गरे।

बुढीगण्डकी जलविद्युत् आयोजना पुनः अघि बढाउनुपर्नेमा जोड दिँदै उनले अहिले उक्त आयोजना अलपत्र परेको बताए। “त्यसलाई पुनः गति दिन अत्यन्त आवश्यक छ,” उनले भने।

अध्यक्ष दाहालले वर्तमान अवस्थामा गणतन्त्र र संविधानको रक्षा गर्न सबै गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। “सुशासन र समृद्धिका लागि फेरि एकपटक आन्दोलन आवश्यक देखिएको छ,” उनको भनाइ थियो।

देशबाट युवाहरूको विदेश पलायन र समाजमा बढ्दो निराशाबारे चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले स्वदेशमै स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरेर रोजगारी सिर्जना गर्न सकिने धारणा राखे।

“नेपाल सम्भावनाले भरिएको देश हो। हामीले युवाहरूमा निराशाको होइन, आशाको भावना जगाउनुपर्छ,” अध्यक्ष दाहालले जोड दिए।

उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरू, माओवादी केन्द्रका कार्यकर्ताहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com