काठमाडौं ।  राजसंस्था पुनःस्थापना र सनातन हिन्दू धर्मको संरक्षणका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरकारले देखाइरहेको व्यवहारका कारण १५ जेठको आन्दोलन पनि १५ चैतको जस्तै असहज हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको छलफलमा बोल्दै सुवेदीले आफूहरू निर्णायक र शान्तिपूर्ण आन्दोलनको तयारीमा रहेको बताए। तर, सरकारले लिएको अडानले स्थिति जटिल बन्न सक्ने भन्दै उनले चिन्ता प्रकट गरे।

advertisement

“हामी अहिंसात्मक तर निर्णायक आन्दोलनमा छौं। तर सरकारको रवैयाले १५ जेठ पनि १५ चैतकै दोहोरिने हो कि भन्ने डर लागेको छ,” सुवेदीले भने।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि आयोजित कार्यक्रममा १५ जेठका दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा रहनुपर्ने अभिव्यक्ति दिएका थिए। सुवेदीले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रेसमाझ आफ्ना भनाइ राखेका हुन्।

“प्रधानमन्त्रीको अभिव्यक्ति असंवैधानिक र आपत्तिजनक छ। त्यसैले हामी तपाईं पत्रकारहरूसमक्ष आएका छौं— यो अवस्थाको प्रत्यक्ष साक्षी बनिदिनुहोस् भनेर,” सुवेदीले भने।

संयुक्त जनआन्दोलन समितिले १५ जेठमा काठमाडौंमा व्यापक जनसहभागिता रहनेगरी शान्तिपूर्ण कार्यक्रमको तयारी गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com