काठमाडौं । काठमाडौँमा चैत १५ गते आयोजित राजावादी प्रदर्शनका क्रममा भएको आगजनी र त्यसबाट भएको पत्रकार सुरेश रजकको मृत्यु घटनामा संलग्न भएको स्वीकार गर्दै अनवरत तत्पर फौज (एटीएफ) का सदस्य सरोज गौतम (तारा राजावादी) ले प्रहरीसमक्ष बयान दिएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर्दा गौतम पनि अभियुक्तको सूचीमा परेका हुन्।
प्रहरीसमक्षको बयानमा गौतमले चैत १५ गतेको कार्यक्रमको तयारीका क्रममा आफूले दुर्गा प्रसाई, धवल शम्शेर जबरा, रविन्द्र मिश्रलगायत नेताहरूसँग पटक–पटक सम्पर्क र समन्वय गरेको बताएका छन्। उनले बिहान १० बजे नै घटनास्थलमा पुगेको र त्यसबेला मिश्र तथा शम्शेरले स्टेजमा सम्बोधन गरिरहेका थिए भने प्रसाईँ समूहले निषेधित क्षेत्रमा संसद् भवन कब्जा गर्नुपर्छ भनी भिडलाई उक्साएको दाबी गरेका छन्।
गौतमका अनुसार उनले पनि भिडलाई उत्तेजित बनाउँदै अगाडि बढाएका थिए। प्रहरीको अवरोधपछि उनी र प्रसाईँ हिँडेरै कार्यक्रमस्थलतर्फ गएको उनले बताएका छन्। स्टेजबाट उत्तेजक भाषण भएपछि भिडले प्रहरीमाथि ढुंगामुढा गर्न थालेको र त्यसैबीच उनीहरू ५ तले पक्की घरको सटर च्यानल गेटको ताला फोडी अनधिकृत रूपमा प्रवेश गरेको उनले खुलाएका छन्।
घरभित्र तोडफोड, लुटपाट तथा आगजनी भइरहेको अवस्थामा गोकर्ण शाहीको हातमा रहेको लाइटर लिएर आफूले नै आगो लगाएको स्वीकार गरेका छन्। आगो बल्न थालेपछि उनी त्यहाँबाट भागेर आफ्नै डेरातर्फ फर्किएको र पछि सामाजिक सञ्जालमार्फत एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक त्यही आगलागीमा परेर जलेको जानकारी पाएको उनले बताएका छन्।
घटनापछि प्रहरीले विस्तृत अनुसन्धान गर्दै जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया