काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा जाने नेपाली यात्रुसँग रकम असुलेको आरोपमा अनुसन्धानमा तानिएपछि अमेरिकाले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल भट्टराईका नाममा जारी पाँच वर्षको ‘मल्टिपल इन्ट्री’ भिसा प्रवेश अनुमति  रद्द गरेको छ ।

भिजिट भिसा तस्करी प्रकरणमा विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि अमेरिकाले भट्टराई दम्पतीका नाममा जारी भिसा रद्द गरेको हो । स्रोतका अनुसार नेपालस्थित अमेरिकी दूतावासले भिसा रद्द गरिएको विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

advertisement

‘अध्यागमन कानुनको परिपालना गर्ने उच्च तहका अधिकृत नै आर्थिक लेनदेनमा परेर भिजिट भिसामा तस्करी गर्ने जस्तो गम्भीर अपराध आरोपमा मुछिएको विषयलाई गम्भीर रूपमा लिएर अमेरिकाले आफैं सहसचिव भट्टराईको भिसा रद्द गरेको छ,’ स्रोतले भन्यो, ‘यो विषय नेपालभित्रको मात्रै मामिला होइन, देशको अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको यस्तो किसिमको अपराधलाई विश्व जगत्ले कुन रूपमा लिन्छ र लिएको छ भन्ने कुरा पनि यसले स्पष्ट पारेको छ ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीहरू नै संलग्न रहेको खुलेपछि अमेरिकाले गम्भीर चासो देखाएको थियो ।

 

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com