काठमाडौं । विद्यमान शासन व्यवस्थाको विरोधमा उभिएको संयुक्त जनआन्दोलन समितिले भोलि जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्णतः भद्र अवज्ञा र सत्याग्रहको रूपमा अगाडि बढाइने स्पष्ट पारेको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा बुधबार जारी गरिएको अपिलमा आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने उल्लेख गरिएको छ।
समितिले यस आन्दोलनको प्रमुख उद्देश्य संवैधानिक राजतन्त्र, सनातन हिन्दू अधिराज्य र बहुदलीय प्रजातन्त्रको पुनःस्थापना रहेको जनाएको छ। अपिलमा देश वर्तमान अवस्थामा भ्रष्टाचार, बेथिति र चौतर्फी संकटमा फसेको उल्लेख गर्दै अब अवस्था र व्यवस्था दुबै परिवर्तन गर्नु अपरिहार्य भइसकेको दाबी गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनलाई लक्षित गर्दै काठमाडौँ नियन्त्रणमा लिने घोषणा गरेका सन्दर्भमा समितिले गम्भीर आपत्ति जनाएको छ। त्यस्तै, सरकारले आन्दोलनमाथि संभावित दमनको चेतावनी दिएको विषयप्रति पनि समितिले चिन्ता व्यक्त गरेको छ।
समितिले मानव अधिकार आयोग, सञ्चारमाध्यम र अन्य अधिकारसम्बन्धी संस्थाहरूलाई तीनकुने घटनाजस्तै संभावित हिंसात्मक अवस्थाप्रति सतर्क रहन आग्रह गरेको छ।
संयुक्त जनआन्दोलन समितिले नागरिकहरुलाई शान्तिपूर्ण र अनुशासित रूपमा आन्दोलनमा सहभागी भइ देशको हितमा आवाज बुलन्द गर्न आह्वानसमेत गरेको छ।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया