काठमाडौं । भिजिट भिसा प्रकरण र आगामी बजेटको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्ष दलहरूले बैठक गर्दै गरेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्। प्रधानमन्त्री ओलीले संसद्‌मा उठेको विषयमा गृहमन्त्री रमेश लेखकलाई जवाफ दिन दिन आग्रह गरेका हुन्।

माओवादी सांसद लेखनाथ दाहालका अनुसार, प्रधानमन्त्री ओलीले संसद्‌मा अवरोध हटाएर गृहमन्त्रीलाई बोल्न दिन वातावरण मिलाइदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए। तर, अध्यक्ष प्रचण्डले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा नदिएसम्म संसद्‌को अवरोध जारी रहने स्पष्ट पारेको बताए।

advertisement

‘प्रधानमन्त्री ओलीले गृहमन्त्रीलाई संसद्‌मा जवाफ दिन दिने वातावरण बनाउन आग्रह गर्नुभएको थियो,’ दाहालले भने, ‘तर अध्यक्षले राजीनामा नआएसम्म अवरोध कायमै रहने बताए। यद्यपि, सरकारले पेस गर्न लागेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे सकारात्मक ढंगले सोच्न सकिने उहाँले उल्लेख गर्नुभयो।’

विपक्षी दलहरू भिजिट भिसा प्रकरणमा गम्भीर रहेको र यसमा गृहमन्त्रीको नैतिक जिम्मेवारीको माग गर्दै आएका छन्। त्यसैले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्‌ चल्न नदिने निर्णय विपक्षी गठबन्धनले यथावत् राखेको हो।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com