काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेदेखि सुरु हुन लागेको राजावादी आन्दोलनलाई चक्रपथभित्र प्रवेश गर्न नदिने स्पष्ट निर्देशन दिएका छन्। बिहीबार सुरक्षा निकायका चारवटै प्रमुखसँग बसेको सुरक्षा बैठकमा प्रधानमन्त्रीले राजधानीको शान्ति सुरक्षालाई ख्याल गर्दै राजावादी प्रदर्शनलाई चक्रपथ बाहिरै सीमित राख्न आदेश दिएका हुन्।
बैठकमा सहभागी उच्च स्रोतका अनुसार सुरक्षा निकायका प्रमुखहरूले भने आन्दोलनको स्वरूप, संख्यात्मक सहभागिता र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षात्मक रणनीति तय गर्न सुझाव दिएका थिए।
राजावादी पक्षले राजतन्त्र पुनःस्थापना र नेपाललाई हिन्दूराष्ट्र घोषणाको माग गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरिसकेका छन्। उता नेकपा एमालेले पनि सोही दिन गणतन्त्र दिवस विशेष उत्सवका रूपमा मनाउने तयारी गरिरहेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले उक्त दिन काठमाडौंलाई आफ्नो पार्टीको ‘कब्जामा’ राख्न नेता कार्यकर्तालाई निर्देशन दिइसकेका छन्।
तर, यी दुई पक्षको कार्यक्रम कहाँ हुने भन्ने स्पष्ट भइसकेको छैन। यद्यपि सुरक्षालाई लिएर सरकारले उच्च सतर्कता अपनाउँदै राजधानीमा कुनै पनि अराजकता हुन नदिने रणनीति तयार पारिरहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया