काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र गणतन्त्र उल्ट्याउने कुनैपनि प्रयासलाई सरकार सहन नहुने स्पष्ट पारेका छन्। उनले जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त वर्तमान संविधान र व्यवस्था संरक्षण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री लेखकले आफ्नो राजीनामा माग गरिएको सन्दर्भमा धारणा राख्दै शान्ति सुरक्षा कायम गर्न सरकारले आवश्यक सबै उपाय अवलम्बन गरिरहेको जानकारी दिए। उनले भोलि काठमाडौंमा कुनै अप्रिय घटना नहोस् भन्नका लागि शान्ति सुरक्षाको भरपर्दो तयारी गरिएको उल्लेख गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा काठमाडौंमा एमाले कार्यकर्तालाई ‘कब्जा’ गर्ने निर्देशन दिएको विषयमा सोधिएको प्रश्नको उत्तरमा गृहमन्त्री लेखकले उक्त भनाइलाई राजनीतिक सन्दर्भमा नभई सांगीतिक कार्यक्रमको सन्दर्भमा बुझ्नुपर्ने बताएका छन्।
उनले थपे, “प्रधानमन्त्रीको अभिव्यक्ति सांगीतिक सन्दर्भमा भएको बुझिन्छ, त्यसलाई अनावश्यक रूपमा राजनीतिक अर्थमा व्याख्या गर्नु उपयुक्त हुँदैन।”
गृहमन्त्री लेखकले वर्तमान राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था जोगाउनु आजको मुख्य जिम्मेवारी भएको पनि दोहोऱ्याए।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया