काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आगामी जेठ १५ गतेदेखि राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र पुनःघोषणाको मागसहित सुरु हुन लागेको आन्दोलनलाई निर्णायक आन्दोलनको रूपमा चित्रित गर्दै सबै कार्यकर्ता र समर्थकहरूलाई कम्तीमा एक हप्ता काठमाडौँमै बसेर तयारी गर्न आह्वान गरेका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै लिङ्देनले यसपटकको आन्दोलन अरू जस्तो नहुने स्पष्ट पार्दै भने, “अहिलेसम्म गरेका आन्दोलनहरू मूल आन्दोलनको आधार तयार गर्ने पूर्वतयारी मात्र थिए। जेठ १५ बाट सुरु हुने आन्दोलन भने मुख्य र निरन्तर अभियान हो। त्यसैले आन्दोलनको पहिलो दिनमै फर्किने योजना नबनाउनुहोस्। टिकट काट्दा पनि कम्तीमा एक साताको हिसाबले तयारी गर्नुस्।”
उनले आन्दोलनको स्वरूप पूर्ण रूपमा शान्तिपूर्ण हुने जानकारी दिँदै प्रदर्शनमा बाहिरी घुसपैठ हुनसक्ने खतरा रहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरे। साथै, सरकारले आन्दोलनलाई दमन गर्न वा विथोल्ने प्रयास गरे त्यसको प्रतिवाद गर्न तयार रहनुपर्ने चेतावनी पनि दिए।
“यदि सरकारले शान्तिपूर्ण आन्दोलनमा अवरोध पुर्याउने वा दमन गर्ने प्रयास गर्यो भने त्यसको प्रतिकार गर्न हामी पछि हट्नेछैनौँ,” लिङ्देनले प्रष्ट पारे।
उनले आन्दोलनमा सहभागी हुन देशभरिबाट आउने समर्थकहरूको बसोबास, खानपान लगायतको व्यवस्थामा कुनै असुविधा नहोस् भन्ने विषयमा पार्टी पूर्ण रूपमा सचेत रहेको जनाए।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई टिप्पणी गर्दै लिङ्देनले भने, “उहाँको बोली हार्न लागेको व्यक्तिको हतास बोली जस्तो लाग्छ।”
अध्यक्ष लिङ्देनको यो घोषणाले जेठ १५ पछि देशको राजनीतिक वातावरणमा थप तरंग ल्याउने अनुमान गरिएको छ। राप्रपाले लामो समयदेखि हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा अभियान चलाउँदै आएको छ।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया