काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको पक्षमा रहेको समूहले बिहीबार राजधानीको शान्तिबाटिकामा आयोजना गर्न लागेको विरोध प्रदर्शनमा राप्रपाका सांसदहरू अल्पकालीन सहभागिता जनाएपछि संघीय संसद्को बैठकमा भाग लिने भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शम्शेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका शीर्ष नेताहरू आन्दोलनको प्रारम्भिक चरणमा केही समय उपस्थित भई त्यसपछि संसद् बैठकमा उपस्थित हुने कार्यक्रम रहेको छ।
राप्रपाका प्रवक्ता तथा प्रतिनिधिसभामा प्रमुख सचेतक रहेका ज्ञानेन्द्र शाहीले आफूहरू संसद् र सडक दुवै मोर्चामा सक्रिय रहने बताए। “हामी आन्दोलनमा केहीबेर सहभागिता जनाउनेछौँ र त्यसपछि संसद्मा प्रस्तुत हुने बजेट भाषणमा पनि सहभागी हुनेछौँ,” उनले भने।
राजावादी समूहले आयोजना गरेको उक्त प्रदर्शन दिउँसो २ बजे सुरु हुने तय गरिएको छ भने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गरिने कार्यक्रम दिउँसो ३ बजेबाट सुरु हुँदैछ। सोही कारण, राप्रपाका सांसदहरू आन्दोलनबीचबाट संसद् बैठकमा जान लागेका हुन्।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले संसद् प्रतिनिधित्व गर्ने नेताहरू ३ बजेसम्म आन्दोलनमा सहभागी भई त्यसपछि संसद्तर्फ लाग्ने र आन्दोलनमा बाँकी रहेका नेता तथा कार्यकर्ताहरू निरन्तर उपस्थित रहने जानकारी दिए।
हाल प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया