काठमाडौं । राजसंस्था पक्षधर प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज जेठ १५ गते आफ्नो ३५औं स्थापना दिवस विविध कार्यक्रमसहित मनाउँदैछ। संयोगवश, राप्रपाको स्थापना दिवस र गणतन्त्र दिवस एकै दिन परेको छ।

२०४७ सालको जेठ १५ गते, प्रजातन्त्र पुनःस्थापना पश्चात पूर्वपञ्चहरूद्वारा दुई फरक राजनीतिक दलको गठन गरिएको थियो— राप्रपा (थापा) र राप्रपा (चन्द)। यी दलहरू क्रमशः पूर्व प्रधानमन्त्रीहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेका थिए। समयक्रममा यी दलहरूबीच टुटफुट, एकता र पुनर्गठन भइरह्यो। अहिले राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राप्रपा नै पार्टीको मूलधार मानिएको छ।

advertisement

स्थापना दिवसको अवसरमा राप्रपा पार्टी कार्यालय, धुम्बाराहीमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। पार्टी अध्यक्ष लिङ्देनले झण्डा फहराएका हुन्। कार्यक्रमको बारेमा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिँदै पार्टीले आजदेखि राजसंस्थाको पुनःस्थापनाका लागि औपचारिक आन्दोलन सुरु गर्ने बताएका छन्।

यही दिन संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण पनि तय भएकोले अध्यक्ष लिङ्देन झण्डोत्तोलन कार्यक्रम र आन्दोलनको उद्घाटनपछि संसदमा भाग लिन जाने कार्यक्रम रहेको छ। एकै दिन तीन–तीनवटा महत्वपूर्ण कार्यक्रम परेका कारण उनी व्यस्त बनेका छन्।

आजकै दिन गणतन्त्र दिवस पनि परेकोले राप्रपा हरेक वर्ष यो दिनलाई आफ्नै ढंगले मनाउने गर्छ। प्रवक्ता श्रेष्ठ भन्छन्, “हाम्रो पार्टी स्थापनाको दिनमा नै उनीहरूले गणतन्त्र घोषणा गरे। त्यसैले हामीले पनि यही दिन पारेर गणतन्त्रको विरुद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेका छौं।”

राप्रपाले गणतन्त्रको विकल्पस्वरूप संवैधानिक राजतन्त्रको बहालीको माग गर्दै आगामी दिनमा थप संघर्षका कार्यक्रमहरू अगाडि बढाउने बताएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com